close

गणेशमानपार्क निर्माण गर्ने स्थापितको प्रतिबद्धता 

गणेशमानपार्क निर्माण गर्ने स्थापितको प्रतिबद्धता 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका  मेयर पदमा उम्मेद्वार केशव स्थापितले आफू निर्वाचित भएको खण्डमा नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सम्झनामा उनको इतिहास समेटेर गणेशमानपार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

मंगलबार काठमाडौं महानगरपालिका–१०मा मतदातासँगको अन्तरक्रियाका क्रममा उनले नेपाली कांग्रेसले गणेशमान सिंहको नाममा राजनीति गरेको, तर उहाँलाई सम्मान गर्न नसकेको बताउँदै यस्तो प्रतिबद्धता जनाएका हुन् । तर, उनले गणेशमान पार्क बनाउन प्रस्ताव लिएर आउन आग्रह गरेका छन् । 

 

‘म मेयर निर्वाचित भएपछि तिलगंगानजिक, अहिले स्विजरल्यान्ड पार्कले परिचित स्थानमा गणेशमान सिंहको सम्झनामा ‘गणेशमान पार्क’ निर्माण गर्ने प्रतिबद्धता गर्न चाहन्छु,’ उनले भने ‘गणेशमान सिंहको इतिहास समेटेर संग्रहालय बनाउने कामको जिम्मा महानगरपालिकाले लिन्छ । यो प्रस्ताव लिएर आउनु पर्‍यो नि !’

 

स्थापितले कांग्रेसले गणेशमानको नाममा राजनीति गरेको, तर सम्मान गर्न नसकेको पनि बताए ।

 

उनले भने, ‘गणेशमानजीको लामो इतिहास छ । उहाँको नाम लिएर राजनीति गरेर हुँदैन । उहाँप्रति सम्मान प्रकट गर्नुपर्छ ।’

 

स्थापितको प्रतिद्वन्दिका रुपमा काँग्रेसले सिंहकी बुहारी सिर्जना  सिंहलाई मेयरमा उठाएको छ । तर, नेवार समुदायमा गणेशमान सि‌ंहको लोकप्रियताको फाइदा लिन स्थापित कस्सिएका छन् ।