close

भरतपुरमा एक लाख मतगणना हुँदा रेनु दाहालको अग्रता फराकिलो

भरतपुरमा एक लाख मतगणना हुँदा रेनु दाहालको अग्रता फराकिलो

Trulli
ADVERTISEMENT

भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेनु दाहाल दोहोरिने सम्भावना बढेको छ ।  २८ हजार १९५ मत गन्न बाँकी रहँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् ।

 

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९९ हजार ६४४ मतगणना गरिएको छ ।

 

वडा नम्बर ४ को मतगणना देखि नै लगातार अग्रता लिँदै आएकी दाहाल सुवेदीभन्दा आठ हजार ७५६ मतले अगाडि छन् । अहिले भरतपुर–२१ र २२ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् । सात वटा वडाको पुरै मत गन्न बाँकी छ ।

 

कुनै चमत्कार भएको अवस्थामा बाहेक सुवेदीले जित्ने सम्भावना कम छ । एमालेका वडा अध्यक्षका उम्मेदवारले पाएको भोट एमालेकै मेयरका उम्मेदवार सुवेदीले पाएका छैनन् । एमालेको गढ मानिएको वडामा नै मेयरमा दाहाललाई दिएर बाँकी पदमा एमालेका उम्मेदवारलाई मत दिएको पाइएको छ ।

 

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण पनि रेणु दाहाललाई जित्न सहज भएको छ । पौडेलले अहिलेसम्म १२ हजार ८१० मत ल्याएका छन् । असन्तुष्ट कांग्रेसीबाट सुवेदीलाई जान सक्ने मत पौडेलले रोकेका छन् ।

मेयरमा सुवेदीलाई दाहालले धेरै मतान्तरले पछाडि पारे पनि माओवादी केन्द्रले पाएको वडा अध्यक्ष पद जित्न सकेको छैन । २२ नम्बर वडाको मत गणना भइरहँदा माओवादीले एउटा मात्रै वडा जितेको छ । 

उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१ हजार ६६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २४ हजार २६७ मत ल्याएकी छन् ।