काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारले प्रतिनिधिमा प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयक सच्याउन आग्रह गरेका छन् ।
विधेयकमा राखिएको आमाको नामबाट नागरिकता पाउने मूल कानुनमा भएको व्यवस्था भन्दा पनि संकुचित रहेको भन्दै सो आग्रह गरेका हुन् ।
उनले भने–‘बाबु पत्ता नलागेको आमाको सन्तानबारे जुन मुल ऐनको दफा ८ संसोधन छ, यसमा अलि ध्यान पुगेको छैन । बाबुको पुष्टाइँ गर्नुपर्ने व्यवस्थाले आमालाई झन्झट भयो भनेर त्यसलाई हटाउन खोजिरहेका बेला झन् अहिले त निज र निजको आमाले गरेको स्वघोषणाको आधारमा भन्दा त एकल आमाका सन्तानले नागरिकता पाउँदैनन् । झन् ठूलो अप्ठेरोमा पर्छ । त्यसकारण यसलाई सच्याइनुपर्छ ।’
उनले बैबाहिक अंगीकृतको बिषयमा राजा वीरेन्द्रको पालादेखि २०७२ सालसम्म एउटै व्यवस्था रहेको बताए । सांसद थापाले संविधान बनाउने बेलादेखि लामो समय कानुन बनाउन नसक्दा लाखौँ मानिसहरु नागरिकता पाउनबाट बञ्चित रहेको उल्लेख गरे ।
उनले जसले जन्मसिद्धका आधारमा नागरिकता पाइसकेकाहरुका सन्तानले वंशजको नागरिकता पाउने उनको भनाइ छ । गैरआवासीय नेपालीलाई नागरिकता दिने कुरा पनि सकारात्मक रहेको थापाले बताए ।