close

नागरिकता विधेयकमा कांग्रेसकै मत विभाजित

नागरिकता विधेयकमा कांग्रेसकै मत विभाजित

Trulli
ADVERTISEMENT

काठमाडौ । नागरिकता विधेयकबारे नेपाली कांग्रेसकै सांसदका मत बाझिएको छ ।

बिहीबारकाे प्रतिनिधिसभामा नेपाली कांग्रेसका दुई सांसदले नागरिकता विधेयकबारे फरकफरक मत राखेसँगै नागरिकता विधेयकबारे कांग्रेसमा विधेयकबारे मतभेद स्पष्ट देखिएको हो । 

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन्  । 

‘लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधारका ठाउँहरु छन् भन्ने विषयहरु पनि उठाउनुभएको छ । खास गरेर आमाको आत्मसम्मानको विषय । महत्वपूर्ण कुरा जुन हामीले विधेयक बन्ने बेलामा पनि छलफल गरेका थियौं । संशोधन पनि राखेका थियौं,’ उनले भने ।

सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताए । सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताए । प्रतिनिधिसभाले नागरिकता विधेयक पुनः पारित गरेको छ।

तर, सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन् ।

जस्तोसुकै सम्मानित पदलाई नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको उनले बताए ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरुले हाल आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू चकित भएको बताए ।

नेता रिजालले भने, ‘आज पास गरिएको नागरिक विधेयक ढुंगाको अक्षर होइन । पछि अरु चिज पनि थप्न सकिन्छ । त्यो गरौला । तर, आज यही बहानामा लाखौं नेपालीलाई नागरिकताबिहीन बनाउने, मुलुकविहीन बनाउने षडयन्त्र गर्ने अधिकार हामीलाई छैन । कुनै व्यक्तिलाई पनि अधिकार छैन । कुनै पनि सम्मानित पदमा बसेको व्यक्तिहोस् त्यो अधिकार छैन । ’

नेता रिजालले एक थरि अनुहारकाले अर्को थरि अनुहारकाको राष्ट्रियतामाथि प्रश्न उठाउने प्रचलन रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताए ।