नवलपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् ।
तर, नारायणी नदी किनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने बोटे समुदायले भने लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । वर्षौँदेखि खोला किनारमा बस्ने र माछा मारेर जीविका चलाउँदै आएको यस समुदायले माछा मारेर जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन् ।
अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानका बोटे अगुवा मङ्गुराम बोटेले बताए ।
‘हामी बाबुबाजेको पालादेखि खोला किनारमै बस्दै आयौँ, हामी र हाम्रा सन्तान पनि खोला किनारमै जन्मिने र हुर्किने गरे’, उनले भने, ‘अबको समय भने बदलिएको छ, नयाँ पुस्ता माछा मार्न जानै छाडे, आफ्नो नाममा जमिन छैन ।’
जुन उम्मेदवारले जमिन र लालपुर्जा दिने प्रतिबद्धतासहित विश्वस्त पार्छन् उनै उम्मेदवारलाई मतदान गर्ने आफूहरूको सोच भएको बोटेले बताए । ती समुदायका मानिस बस्दै आएको ठाउँमा विभिन्न समयमा जग्गा नापी गरिएको भए पनि हालसम्म आफूहरूको हातमा लालपुर्जा प्राप्त नभएको उनीहरूको भनाइ छ ।
जग्गा र लालपुर्जासँगै आफूहरूलाई सीप र रोजगारीको आवश्यकता भएको आइतीमाया बोटेले बताइन् । ‘हामीसँग माछा मारेर खानेबाहेकका अन्य कुनै पनि सीप छैनन्’, उनले भनिन्, ‘सधैँभरि माछा मारेर खान पनि पुग्दैन, हिजोआज त नारायणीमा माछा मार्नका लागि पनि निकुञ्जले अवरोध गर्ने गरेको छ । त्यसैले अब सीप सिकाएर हामीलाई रोजगार दिनुपर्छ ।’
आफ्ना बालबालिका विद्यालय जानै नमान्ने अवस्था रहेको भन्दै बोटेले बालबालिकालाई विद्यालय पुगेर पढ्ने–लेख्ने वातावरण गराउनु पनि जनप्रतिनिधिको दायित्व भएको बताइन् ।
जिल्लाको गैँडाकोट , देवचुली , कावासोती , मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी किनारका गाउँमा सो समुदायको बसोबास छ ।