कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा ६ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा (एमाले)बाट तीन र स्वतन्त्र एक गरी ६ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामजनम चौधरी, क्षेत्र नं ४ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेशसभापति वीरबहादुर बलायर चुनावी मैदानमा छन् ।
त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा एमालेका नेता एवं पूर्वमन्त्री गौरीशङ्कर चौधरी चुनावी मैदानमा छन् । एमाले नेता चौधरीसँग उहाँका पूर्वसहकर्मी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनि राना र कांग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली कांग्रेसका डिल्लरिाज पन्त उम्मेदवार छन् ।
विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजित गरेका थिए । यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र एमाले उम्मेदवार रानालाई स्वतन्त्र उम्मेदवार ओझा चुनौतीका रुपमा देखा परेका छन् । सत्तागठबन्धनको मत स्वतन्त्रले काट्ने आँकलनले राना जीतलाई निरन्तरता दिने दाउमा छन् भने सत्तागठबन्धनका उम्मेदवार पन्त पाँचदलीय र एमालेभित्रको आन्तरिक किचलो फाइदा उठाउँदै चुनाव जित्ने दाउमा छन् ।