close

रुपन्देही–१: रोक्न सक्लान् त छविलालले घनश्यामलाई ? (भिडियो सामग्रीसहित)

रुपन्देही–१: रोक्न सक्लान् त छविलालले घनश्यामलाई ? (भिडियो सामग्रीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । रुपन्देहीका प्रभावशाली बामपन्थी नेता घनश्याम भुसाल हाल नेकपा एमालेमा छैनन् । 

आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट नदिएको झोंकमा उनी सत्ता गठबन्धनको साथ लिएर रुपन्देही–१ मा स्वतन्त्र बाम उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । 

यो निर्वाचनमा क्षेत्रमा उनकै राजनीतिक चेला छविलाल विश्वकर्मालाई हराउनुपर्ने चुनौती भुसालसामु छ । एमालेका सचिवसमेत रहेका विश्वकर्मालाई भुसालको इमान्दारिताको राजनीतिक विरासतलाई तोड्न सहज भने छैन । 

त्यसमाथि सत्तारुढ बामलोकतान्त्रिक गठबन्धन र एमालेसँग रुष्ट कार्यकर्ताको साथ पाउँदा भुसाल निकै शक्तिशाली उम्मेदवारका रुपमा देखा परेका छन् । 

हुन त विश्वकर्मालाई राप्रपा र जसपाले साथ दिएका छन् । तर, त्यो साथले मात्रै जित हात पार्छु भन्ने कुरामा उनी ढुक्क हुन सकेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीको कोपोभाजनमा परेर टिकटको दौडबाट बाहिरिएका भुसालले एमाले परित्याग गरेसँगै रुपन्देही केही प्रभावशाली एमाले नेताहरू समेत उनको पक्षमा खुलेका छन् । 

यसले गृह क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका भुसालको जित केही सहज बन्न सक्छ । रुपन्देही–१ मा १ लाख ३९ हजार ५ सय ६० मतदाता छन् । 

गत स्थानीय चुनावको मतलाई आधार मान्दा भुसालभन्दा विश्वकर्मा अगाडि देखिन्छन् । तर, उमालेले त्यो मत पाउँदा भुसाल समेत एमालेका स्थायी समिति सदस्य थिए । यो क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, लोसपा र राष्ट्रिय जनमुक्ति पार्टीको मत जोड्दा करिब ४० हजार छ । 
यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको मत करिब ५२ हजार छ । त्यसबाहेक अहिले सात हजार मतदाता थपिएका छन् । उता देवदहका तत्कालीन अध्यक्ष रहेका टीकाराम चापागाईँले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

उनी दुवै गठबन्धनको मत आफूले तान्ने दाबी गर्छन् । उता स्थानीय तहको मतलाई आधार मानेर आगामी चुनावको हिसाबकिताब गर्न नमिल्ने तर्क भुसालको छ । 
उनको भनाइअनुसार स्थानीय तहको निर्वाचन हुँदा र अहिलेको अवस्थामा राष्ट्रिय राजनीतिमा निकै परिवर्तन पनि आएको छ । उनका प्रतिस्पर्धी एमालेका विश्वकर्मा भने गठबन्धनभन्दा करिब १५ हजार बढी मतले ल्याएर विजयी हुने दाबी गर्छन् । 

यस क्षेत्रमा तेस्रो र चौथो शक्तिका रूपमा राप्रपा र जसपा छन् । तर, गठबन्धनको मत जोगाउँदै रुष्ट एमाले मतदातालाई समेत रिझाउन सकेको खण्डमा भुसालले स्मरणीय जित हासिल गर्ने अनुमान बलियो बन्दै गएको छ ।