close

सप्तरी-२ मा त्रिपक्षीय महाभिडन्त (भिडियोसहित)

यादव, राउत र ठाकुर मुख्य खेलाडी

सप्तरी-२ मा त्रिपक्षीय महाभिडन्त (भिडियोसहित)

यादव, राउत र ठाकुर मुख्य खेलाडी

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोसपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । 

यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ। डा राउतले पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन् । 

जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुरले भने यसअघि पनि उम्मेदवारी दिएका थिए ।

वामलोकतान्त्रिक गठन्धनले लोसपाका उम्मेदवार ठाकुरलाई समर्थन गरेको छ ।एमालेले भने जसपाका अध्यक्ष यादवलाई समर्थन जनाएको छ । 

स्वतन्त्र मधेसको नारासहित राजनीति सुरु गरेका जनमत पार्टीका अध्यक्ष डा राउत भने कुनै सारथिबिना एक्लै चुनावी मैदानमा छन् । 

यी तीनै जनामध्ये कसले चुनावी बाजी मार्छ भनेर ठोकुवा गर्नसक्ने अवस्था अहिले छैन । यादवले ५ वर्षअघि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका हुन् । उनले २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेससमेतको सर्मथनमा उम्मेदवारी दिएका थिए । 

त्यसबेला उनी २१ हजार ६ सय २० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेश यादवले ११ हजार पाँच सय ८० मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा आएका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले नौ हजार चार सय ५९ मत प्राप्त गरेका थिए ।

यसपटक मतदाताको मनस्थितिसँगै गठबन्धनमा पनि व्यापक परिवर्तन देखिएको छ । पाँच वर्षअघि यादवका प्रतिस्पर्धी लोसपाका ठाकुर अहिले वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिँदा उल्लेख्य मत पाएका ठाकुरले पुराना मत जोगाउन सके विजयी हुने सम्भावना बलियो छ ।

जसपाले आफ्नो कट्टरविरोधी मान्दै आएको एमालेसँग गठबन्धन गरेको छ । 

उतासत्ता गठबन्धनकोसाथ पाउँदा आफू विगतमा भन्दा बलियो बनेको ठाकुरको दाबी छ । राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले जितेका थिए ।

राजविराज नगरपालिकामा भने जसपा विजयी भएको छ । गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार तीन सय ७५ र एमालेले तीन हजार ६ सय ९३ मत प्राप्त गरेको थियो । 

यस्तै, कांग्रेसले १३ हजार ३ सय १५, लोसपाले १३ हजार पाँच सय ४८, माओवादी केन्द्रले ७ हजार ७ सय ७६ र एकीकृत समाजावादीले ३ हजार २ सय ७१ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२छ । यही आधारमा आफ्नो जित सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको दाबी छ ।

जनमत पार्टीका अध्यक्ष डा राउतको उम्मेदवारीले सत्ता गठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ । बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताका कारण जनताले यसपटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ । 

जसपा अध्यक्ष यादव भने २०७४ सालको निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि निस्वार्थ भएर धेरै काम गरेकाले जनताले यसपटक पनि विजयी बनाउने विश्वासमा छन् । कृषि विश्वविद्यालय, जीर्ण बनेको गजेन्द्रनारायण सिंह अस्पालतको सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले अबको पाँच वर्ष पनि काम गर्ने मौका दिने उनको दाबी छ ।

जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा राउत दुवैको घर यसै क्षेत्रअन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ । सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ। सप्तरी निर्वाचन क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला तथा अन्य दुई मतदाता छन् ।