close

प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभा बैठक अवरुद्ध

Trulli
फाइल फाेटो।
ADVERTISEMENT

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि  निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेकोे बताए । उनले आफ्नो भनाइ राखिरहँदा सत्तापक्षका सांसद पनि आफ्नो आसनबाट उठेका थिए ।

सांसद थापा बोलिरहेकै बेला सत्तापक्षका सांसद पनि उठेपछि सभामुख देवराज घिमिरे उनीहरुलाई बस्न आग्रह गरेका थिए । सत्तापक्षका सांसदले आसन ग्रहण  गरेपछि एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।  

यही साउन २ गते सिनामङ्गलबाट बरामद भएको अवैध सुन भित्रिएको विषयमा छानबिन समिति बनाउनुपर्ने  एमालेले माग राखेको छ । 

बैठकमा सभामुख देवराज घिमिरेले सुन तस्करीसँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भइरहेको र सदनलाई गृहमन्त्रीले जवाफ दिइसकेकाले सदन सञ्चालनमा सहयोग गर्न एमाले सांसदहरुलाई आग्रह गरेका थिए ।

उनले भने, ‘संसद् जनताका आवाज उठाउने थलो हो । अहिले बाढीपहिरोका घटनालगायत संसद्मा उठाउनुपर्ने अन्य थुप्रै विषय छन् ।’ उनले संसद्को नियमित कारबाही अगाडि बढाउन आग्रह गरेपनि एमाले सांसदले नाराबाजी गर्दै अवरोध कायम राखेपछि आजको बैठक स्थगित भएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।