close

संघीय मामिला मन्त्रीमा अनिता साह नियुक्त, क्वाटर खालि गराउँदै अमनलाल मोदी

संघीय मामिला मन्त्री अमनलाल मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गरेपछि जनमत पार्टीकी साह मन्त्री बनेकी हुन् ।

संघीय मामिला मन्त्रीमा अनिता साह नियुक्त, क्वाटर खालि गराउँदै अमनलाल मोदी

संघीय मामिला मन्त्री अमनलाल मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गरेपछि जनमत पार्टीकी साह मन्त्री बनेकी हुन् ।

Trulli
ADVERTISEMENT

काठमाडाैं - जनमत पार्टीको संसदीय दलको नेता अनिता साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा शपथ लिएकी छिन् । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । 

संघीय मामिला मन्त्री अमनलाल मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गरेपछि जनमत पार्टीकी साह मन्त्री बनेकी हुन् । नवनियुक्त मन्त्री साहले आजै कार्यभार सम्हाल्ने जनाईएको छ ।  

को हुन् अनिता साह ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी अनिता साह जनमत पार्टीको संसदीय दलको नेता एवं पार्टीकी सचिव हुन् । जनकपुरमा जनमत पार्टीको महाधिवेशन हुँदा आयोजक समितिको अध्यक्ष रहेकी साह पार्टीको समानुपातिक सांसद हुन् । 

स्नातक अध्ययन गरेकी साह राजनीतिमा आउनुअघि सामाजिक क्षेत्रमा सक्रिय थिईन् । विशेषगरी महिला हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियान, मानवअधिकार लगायतका क्षेत्रमा उनी लामो समयदेखि क्रियाशिल सामाजिक अभियन्ता हुन् ।  

जनमत पार्टीले सञ्चालन गरेको किसान आन्दोलनको अग्रमोर्चा सम्हालेकी नेतृ हुन्, साह । तत्कालिन धनुषा जिल्लाको इन्चार्ज रहँदा उनको नेतृत्वमा धनुषाको पोर्ताहामा आन्दोलन हुँदा प्रहरीको गोली लागि उनका श्रीमासँगै अन्य चार जना घाइते भएका थिए । 

सामान ओसार्दै पूर्व मन्त्री मोदी
मन्त्रीबाट बर्खास्त भएसँगै माओवादी नेता अमनलाल मोदी क्वाटर खालि गराउँदैछन् । उनका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार मोदी विहानैदेखि सामान प्याकिंग गराउँदैछन् । उनले आजै मन्त्री क्वाटर छोड्दैछन् । 

मन्त्रीमा नियुक्त भएदेखि नै स्थानीय सरकार सञ्चालन ऐन संशोधन, निजामती कर्मचारी ऐनमार्फत् समायोजन भएका असन्तुष्ट कर्मचारीका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता गर्दै आए पनि उनको कार्यकालमा देखिने खालको खासै काम हुन नसकेको कर्मचारीबृत्तमा चर्चा छ । 

बरु कर्मचारीको मनोबल गिराउने गरी एउटै कर्मचारीलाई छोटो समयमा पटक पटक सरुवा गराएको आरोप उनीमाथी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोर कार्यक्षमता देखिएका मन्त्रीहरुलाई हटाउने उद्घोष गरिरहेका बेला मन्त्री मोदीको बहिर्गमन उनको कार्यक्षमताकै कारण हुनसक्ने जानकारहरु बताउँछन् ।

२०७९ माघ ३ गते मोदी मन्त्रीमा नियुक्त भएका थिए । उनले आफ्नो कार्यकालमा सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेनन् । अझै ८५ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन छन् ।