close

‘पोलाइट पोलिटिसियन’ नेम्वाङले संसदीय निर्वाचनमा कहिल्यै हारेनन्

७१ वर्षीय मृदुभाषी नेता एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङले संसदीय निर्वाचनमा कहिल्यै हारेनन् तर मृत्युसँग हारे ।

‘पोलाइट पोलिटिसियन’ नेम्वाङले संसदीय निर्वाचनमा कहिल्यै हारेनन्

७१ वर्षीय मृदुभाषी नेता एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङले संसदीय निर्वाचनमा कहिल्यै हारेनन् तर मृत्युसँग हारे ।

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको जन्म इलामको सुन्तलाबारीमा वि.सं. २००९ साल फागुन २८ गते भएको थियो । नेम्वाङले कानूनमा स्नातक गरेका छन् । २०२८/०२९ सालदेखि विद्यार्थी राजनीति गरेका नेम्वाङ अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । नेम्वाङले पार्टी राजनीति भने २०३३ सालबाट सुरु गरेका हुन् । त्यतिबेला उनी नेकपा मालेमा संगठित भए । राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुना परेपछि उनको औपचारिक पार्टी राजनीतिक सुरु भएको हो । 

कहिल्यै नहारेका नेम्वाङ
कम बोल्ने, हँसिलो स्वभावका नेम्वाङ पुर्नस्थापित प्रतिनिधिसभाको सभामुख, अन्तरिम व्यवस्थापिका संसदको सभामुख, पहिलो र दोश्रो संविधानसभाको अध्यक्ष थिए । २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनेका उनी २०५६ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य बने । नेम्वाङले कुनै पनि संसदीय निर्वाचनमा पराजय बेहोरेका छैनन् । उनी २०४८ सालदेखि ०५२ सालसम्म राष्ट्रियसभा सदस्य थिए भने २०५६, २०७४ र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०६४ र २०७० मा संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए । 
उनी मन्त्री र संसदीय समितिको सभापति समेत भइसकेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन मन्त्री र सार्वजनिक लेखा समितिका सभापतिको जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको स्मरण जो कोहीसँग ताजै छ । नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका उनी नेपाल वार एशोशिएसनको समेत नेतृत्व गरे । उनी नेपाल वारको पूर्वमहासचिव पनि हुन् । कानून व्यवसायीका रुपमा परिचित नेम्वाङ अध्ययन र समाजसेवामा दख्खल राख्थे । नेम्वाङ संविधानमार्फत संघीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशिल नेताका रुपमा परिचित छन् । उनका आधा दर्जनभन्दा बढी कृति पनि प्रकाशित छन् ।

संसद् अवरुद्धप्रति असहमति
नेम्वाङका अडान सम्भवतः गलत सिद्ध भएको छैन । पछिल्लो पटक नेकपा एमालेले गरेको संसद अवरोधका विषयमा उनको फरक मत थियो । संसद अवरोध गर्नुलाई उनले कहिल्यै जायज मानेनन् । आफ्नै दलले गरेको होस् या अन्य कुनै दल । उनी जनताका अधिकार कुण्ठित कतैबाट हुन दिनुहुँदैन भन्ने मान्यता राख्थे । 

संसद सुचारु गर्ने विषयमा दलहरुसँगको बैठकबाट सहमति गरेर फर्किएपछि  नेम्वाङसँग पार्टी अध्यक्ष केपी शर्मा ओली झर्किएको प्रसंग पनि निकै चर्चित बनेको थियो । त्यतिबेला पनि उनले पार्टी अध्यक्षभन्दा मुलुक र जनताको खुशीलाई प्राथमिकतामा राखेर काम गरे । 

ओलीको संसद विघटन र त्यो भिडियो
२०७६ साउन ४ गते काभ्रेको धुलिखेल लज रिसोर्टमा पत्रकारहरुसँग छलफल गर्दा उनले बोलेको भिडियो निकै भाइरल नै बनेको थियो । उनले अस्थिर सरकार नहोस् भन्ने हेतुले संविधानमै प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नराखिएको बताएका थिए । सो भिडियोप्रति अनेकन कोणबाट चर्चा भए पनि संविधान, विधि, कानून र प्रक्रिया मिचेर गरिने कसैको कुनै पनि क्रियाकलापप्रति उनको सहमति देखिंदैनथ्यो । 

नेम्वाङको अन्तिम इच्छा मुलुकको राष्ट्रपतिमा थियो । नेकपा एमालेको तर्फबाट २०७९ मा भएको राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए । 

सबैका प्रिय डियर नेम्वाङ, अलबिदा ...