close

नेम्वाङलाई जन्मस्थान सुन्तलाबारीले यसरी सम्झियो...

नेम्वाङलाई जन्मस्थान सुन्तलाबारीले यसरी सम्झियो...

Trulli
ADVERTISEMENT

काठमाडौं– इलाम नगरपालिका-७ का कृष्ण श्रेष्ठ नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छिमेकी हुन् । नेम्वाङ आफ्नो छिमेकीमात्र नभई दाजुभाइजस्तै रहेको श्रेष्ठ बताउँछन् । नेम्वाङ राष्ट्रको लागि सुवर्ण अक्षरमा नाम लेख्नुपर्ने व्यक्ति रहेको उनको बुझाइ छ । 

उनी भन्छन्, ‘वर्तमान अवस्थामा विभिन्न दलका व्यक्तिहरू सुनकाण्ड, जग्गा अतिक्रमणको काण्डमा मुछिएका छन् । तर, उहाँ अहिलेसम्म कतै केही दाग नलागेका नेपालकै शालिन व्यक्तित्व हुनुहुन्थ्यो ।’ नेम्वाङलाई इलामकै गौरवशाली व्यक्तिको रुपमा स्थानीयले लिने गरेको श्रेष्ठ बताउँछन् । 

नेम्वाङले इलाममा सम्झन योग्य विभिन्न काम गरेको उनी बताउँछन् । नेम्वाङले इलामको मात्र नभइ झापा, पाँचथर ताप्लेजुङको विकासको लागि पनि महत्त्वपूर्ण योगदान पुर्याएको उनको बुझाइ छ । ‘इलाममा पनि कर्णालीजस्ता क्षेत्र छन् । त्यस्तो कर्णालीजस्तो क्षेत्रमा बाटो बनाउने काम गर्नुभएको छ ।’ इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब ६ अर्बको निर्माण लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान रहेको उनले बताए ।  

यस्तै इलामको गहनाको रुपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनले पालिका खबरलाई बताए । इलामका महत्त्वपूर्ण स्थानको विकासको लागि र व्यापारिक क्षेत्रलाई उक्त सडकले ठूलो टेवा पुर्‍याउने उनको विश्वास छ । 

इलाममा कोल्ड स्टोर राख्न, सिटि मार्ट बनाउन, गौतमबुद्ध सभा हल बनाउन नेम्वाङले सहयोग गरेको उनी बताउँछन् । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाए ।  

टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्‍याउनुका साथै विद्यालयहरूलाई साथ र सहयोग नेम्वाङले दिएको उनले बताए । सरकारको साथ र विदेशी दातृ निकायको सहयोगबाट इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको श्रेष्ठ बताउँछन् । 

आफूहरूले बिहानै श्रद्धाञ्जली अर्पण गरेको श्रेष्ठले बताए । ‘बिहान पार्टी कार्यमा भेला भएर श्रद्धाञ्जलीको कार्यक्रम सुरु गरेका छौँ । उहाँको फोटोमा दियो राखेर फूलमाला लगाएर पार्टीको आधा झण्डा झुकाएर श्रद्धाञ्जली अपर्ण गरेका छौँ ।’ 

नेम्वाङको दाहसंस्कार पछाडि भोलि इलाम बजारमा श्रद्धाञ्जली गर्ने तयारी भएको श्रेष्ठले बताए । ‘उहाँ पार्टीको मात्र व्यक्ति होइन, सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । कुनै प्रकारको खोट नभएको, कसैलाई नराम्रो नभन्ने सबैको साझा व्यक्ति हुनुहुन्थ्यो,’ उनले नेम्वाङलाई सम्झिए । इलाम–७ का स्थानीय श्रेष्ठ एमाले कोशी प्रदेश कमिटीका सदस्यसमेत हुन् ।