close

गुराँस पालिकामा जनप्रतिनिधि–कर्मचारीबीच चुलियो विवाद

गुराँस पालिकामा जनप्रतिनिधि–कर्मचारीबीच चुलियो विवाद

Trulli
ADVERTISEMENT

जुम्ला– दैलेखको गुराँस गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद चुलिएको छ । पछिल्लो ५/६ महिनादेखि सुरु भएको विवाद अहिले सतहमै आएको छ । विवाद चुलिएर आरोप–प्रत्यारोप गर्दै एकअर्काविरुद्ध विज्ञप्ति नै जारी गर्नेसम्म पुगेको छ ।

 

लेखा अधिकृत दिनेश दाहाललाई कार्यालयमा नआउन भन्दै गाउँपालिका अध्यक्ष खेमराज ओली र प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले कुर्सी लुकाइदिएका छन् । अडिट चलिरहेकाले आफूले प्लास्टिकको कुर्सीमा बसेर काम गरिरहेको लेखा अधिकृत दाहालले बताए ।

 

कुर्सी नभएको विषयमा गाउँपालिका अध्यक्ष ओलीसँग सोधपुछ गर्दा उनले धम्कीको शैलीमा आफूलाई अफिस नआउन भनेको र अटेरी गरे केटाहरू बोलाएर निकाल्ने चेतावनी दिएको लेखा अधिकृत दाहालले दाबी गरे । अध्यक्ष ओलीको यस्तो चेतावनीपछि दाहालले जिल्ला प्रशासन कार्यालय दैलेखमा जानकारी दिए । प्रमुख जिल्ला अधिकारीले कर्मचारीलाई बिनादबाब काम गर्ने वातावरण तयार गर्ने आश्वासन दिएपछि उनी कार्यालय फर्किए ।

 

अध्यक्षले कुर्सी नदिएपछि दाहालले करिब एक महिना प्लास्टिकको कुर्सीमै बसेर काम गरेको एक कर्मचारी बताउँछन् । गाउँपालिकाको खाता सञ्चालनमा समेत विवाद छ । तीन जनाको नाममा रहेको गाउँपालिकाको खाता लेखा अधिकृतको नाममा छैन । खाता सञ्चालनमै विवाद भएपछि शिक्षक, कर्मचारीको तलब भत्ता र उपभोक्ता समितिबाट भएका कामको भुक्तानीसमेत रोकिएको छ ।

 

आफन्त संलग्न योजनाको भुक्तानीका लागि स्रोत नभए पनि अन्य स्रोत मिलाएर चेक काट्न बारम्बार दबाब आएको लेखा अधिकृत दाहालको गुनासो छ । ‘कार्यालय प्रमुखले समेत आफूलाई गत वर्ष दुई वटा बिल मात्रै भएको फाइल ल्याएर चेक काट्न आग्रह गर्नुभएको थियो । मैले त्यो काम गरिनँ । भोलि कसैले मुद्दा हालिदियो भने मेरो जागिर जान्छ भनेँ । त्यसपछि ममाथि क्रमशः दबाब सिर्जना हुँदै आएको छ,’ दाहालले भने ।


गत वर्ष कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका थिएनन् । तर, गाउँपालिका अध्यक्ष ओलीले व्यक्तिगत रूपमा आफूले नियुक्त गरेका करार कर्मचारीलाई करिब दुई करोड रुपैयाँ बढी तलब दिनुपर्ने अवस्था आयो । लेखाको हिसाबबाट मिल्दै नमिल्ने कुरामा अध्यक्षले जबर्जस्ती चेक काट्न लगाउने क्रम बढेपछि लेखा अधिकृतले कानुनभन्दा बाहिर जान नसकिने अडान लिएसँगै विवाद चुलिएको एक कर्मचारीले बताए ।


अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत आर्चायलाई लिखित र मौखिक रूपमा लेखा अधिकृतलाई कामकाज नगराउन उर्दीसमेत जारी गरेका छन् । अध्यक्षको लिखित आदेश भन्दै प्रमुख प्रशासकीय अधिकृत आर्चायले लेखा अधिकृतको हाजिरीमा एक महिनादेखि रातो लगाउँदै आएका छन् ।


हाजिरीमा रातो लगाउँदा पनि लेखा अधिकृत दाहाल नियमित कार्यालय आएर काम गरिरहेको ती कर्मचारीले बताए । दाहालको सरुवाका लागि १३ माघमै प्रशासकीय अधिकृतले संघीय मामिला मन्त्रालयमा पुनः चिठ्ठी पठाएपछि कर्मचारीमाथि कर्मचारीले नै अन्याय गरेको भन्दै अन्य कर्मचारी विभाजित भएका छन् । पालिका अध्यक्ष खेमराज ओलीले सबै दोष लेखा अधिकृत दाहालको रहेको भन्दै आक्रोश पोखे । जनताको फाइल डस्बिनमा फाल्ने काम भएको उनको आरोप छ । 

‘भनेको समयमा काम भएको छैन । बिनाजानकारी कार्यालय छोड्ने क्रम बढेको छ । सफ्टवेयर बिग्रेको बहाना गरिन्छ । यस्ता प्रवृत्ति बढ्दै गएपछि मैले खातामा लेखा अधिकृतको नाम नराख्न भनेको हुँ । कुर्सी एक महिनादेखि नदिएको हो,’ उनले भने, ‘बारम्बार सच्चिन आग्रह गरेको छु । अहिले कुर्सी मात्रै दिएको छैन । नसच्चिए म आफैंले कालो मोसो दलेर पालिका घुमाउँछु । राष्ट्रसेवक कर्मचारी हुँ भन्दैमा जे पनि गर्न पाइन्न ।’


यस्तो प्रवृत्ति सुधार गर्न पाँच पटक मौखिक र तीन पटक लिखित जवाफ माग्दा पनि अटेर गरेपछि समस्या बढेको ओलीको दाबी छ । विवादको सहज निकासका लागि सरुवा नै उपयुक्त विकल्प रहेको उनी बताउँछन् । पालिकाका अन्य प्रतिनिधिले भने कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा लामो समयदेखि अवहेलना गरिएको भन्दै विरोध जनाएका छन् ।

 

गल्ती गरेको प्रमाण भेटिए कारबाहीका अन्य प्रक्रिया रहेको वडा नम्बर ६ का वडाध्यक्ष हिम ओलीले बताए । ‘कानुन हातमा लिने काम कर्मचारीले पनि गर्नुहुन्न, पालिकाका अध्यक्षले पनि गर्नुहुँदैन । कर्मचारीलाई आफन्तले गरेका कामको भुक्तानी जुनसुकै हालतमा दिनुपर्दछ भन्ने मान्यताले समस्या आएको हो,’ उनले भने ।