close

स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अलपत्र

स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अलपत्र

Trulli
ADVERTISEMENT

काठमाडौँ– सरकारले स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अहिले अलपत्र परेको छ । स्थानीय तहका कर्मचारीको मनोबल उच्च पार्दै स्थानीय तहको कामलाई थप प्रभावकारी र परिणामुखी बनाउन सरकारले एक तह वृद्धि गर्ने मापदण्ड बनाएको थियो ।

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाखमा मापदण्ड निर्माण गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । प्रस्तावित मापदण्ड अझै अर्थ मन्त्रालयबाट फिर्ता भएको छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अहिलेसम्म अर्थ मन्त्रालयबाट कुनै पनि जवाफ नआएको बताए ।

 

कर्मचारी समायोजनका क्रममा सरकारले सङ्घका कर्मचारीलाई स्थानीय तह र प्रदेशमा समायोजन भई जाँदा एक तह वृद्धि र दुई ग्रेडसम्म थप गरेको तर स्थानीय तहमै कार्यरत कर्मचारीलाई यथास्थितिमै राखिएको थियो । उहाँका अनुसार सङ्घीय सरकारलाई आर्थिक भार नपर्ने गरी स्थानीय सञ्चित कोषबाटै व्ययभार बेहोर्ने गरी मन्त्रालयले तह वृद्धिको मापदण्ड तर्जुमा गरेको थियो । उनले भने, ‘गत वैशाखमा मापदण्डलाई सिधै मन्त्रिपरिषद्मा पेस गर्न लाग्दा सहमति लिएर पेस गर्न खोजिएकाले अहिलेसम्म अर्थ मन्त्रालयमै रोकिएको छ ।’

 

एउटै कार्यालयमा काम गर्ने कर्मचारी कसैको बढुवा कसैको १० वर्षदेखि यथास्थितिमै रहेकाले सबैलाई समान व्यवहार गर्न मन्त्रालयले मापदण्ड बनाई स्थानीय तहका कर्मचारीको बढुवा गर्न लागेको थियो । अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको मापदण्ड मन्त्रालयमा खोजी गर्दा नभेटिएको बताए । 

 

नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष श्रीराम आचार्यले सरकारले कर्मचारी समायोजनका क्रममा सङ्घ र प्रदेशमा समायोजन भएका कर्मचारीलाई एक तह बढुवा गरेको तर स्थानीय तहका कर्मचारीलाई यथास्थितिमै राखेर अन्याय गरेको गुनासो गरे ।