close

नागरिकलाई सुशासनको प्रत्याभूति दिँदै रंगेली

नागरिकलाई सुशासनको प्रत्याभूति दिँदै रंगेली

Trulli
ADVERTISEMENT

नागरिकलाई प्रभावकारी सेवा प्रवाहको पहुँचमा पुर्‍याउन सके मात्र सही अर्थमा स्थानीय तहको औचित्य पुष्टि हुन्छ । सेवा प्रवाहलाई परिणाममुखी र प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका अग्रपंक्तिमा देखिनुपर्छ । नागरिकको घरदैलोको सरकार रंगेली नगरपालिकाले पाँच वर्षमा सुशासनको प्रत्याभूति दिलाउन गरी काम गरिरहेको छ ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७५ ले विकासमा नागरिक संलग्नता, जवाफदेहिता र पारदर्शितामा जोड दिएको छ । भ्रष्टाचारमुक्त सुशासनको अवस्था सिर्जना गर्न सके मात्र जनप्रतिनिधिप्रति नागरिकको विश्वास बढ्ने हो । यही विष्यलाई मनन गर्दै  रंगेली नगरपालिकाले सेवा सुशासनमा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । नगरपालिकामा नागरिक बडापत्र, गुनासो सुनुवाइ र पारदर्शी सेवाग्राहीमैत्री कार्य प्रणाली अवलम्बन गरिएको छ । पालिकाभित्र रहेका विभिन्न शाखालाई छुट्याएर सेवाग्राहीको सहजताका लागि विषयगत समिति, विभिन्न शाखा र कर्मचारी व्यवस्थापन गरिएको छ । सेवा प्रवाहलाई सहज बनाउन कार्यालय तथा वडाहरूमा डिजिटल सूचना बोर्ड राखिएको छ । डिजिटल बोर्ड, अनलाइन सेवा, मुस्कानसहितको सेवा प्रवाहमा नगरपालिकाले जोड दिँदै आएको छैन । वडा तहबाट प्रदान गर्ने सेवा–सुविधालाई नागरिकमैत्री बनाउन कर्मचारीलाई प्रशिक्षण तथा तालिम पनि दिइने गरिएको वडा नम्बर २ का वडाध्यक्ष जितनारायण खवासले बताए ।

 

नगरपालिकाले निर्वाचित जनप्रतिनिधि र कर्मचारीका लागि आचारसंहिता निर्माण गरेको छ । त्यसको पालना भए–नभएको अनुगमन गर्ने र कडाइसाथ लागू गर्ने नीति अवलम्बन गरिएको पाइन्छ । गुनासो व्यवस्थापनका लागि गुनासो अधिकारी र सूचना अधिकारीको पनि व्यवस्था गरिएको छ । सार्वजनिक खर्चमा मितव्ययीता अपनाउँदै अनावश्यक तहमा कर्मचारी भर्ना नगर्ने नीति अवलम्बन गरिएको छ । सवारी सुविधा मापदण्ड बनाएर लागू गरिएको वडा नम्बर ३ का वडाध्यक्ष  घनश्याम पनेरुको भनाइ छ ।

 

नगरप्रमुखले अहिलेसम्म आफ्नो मासिक सेवा–सुविधा लिएका छैनन् । मासिक रूपमा प्राप्त हुने रकमबाटै नगरभरि वाईफाईको व्यवस्था गरिएको छ । यसले गर्दा विदेशमा आफन्तसँग कुरा गर्न र विश्वभर दिनभर भएका घटनाबारे नागरिकले सजिलै जानकारी पाउने अवस्था बनेको छ । निःशुल्क इन्टरनेट व्यवस्था गर्न पाउँदा नगरप्रमुख सन्तुष्ट छन् भने नागरिक पनि खुसी रहेको वडा नम्बर ७ की स्थानीय गंगादेवी रावत सुनाउँछिन् ।

 

संस्थागत क्षमता अभिवृद्धि र चुस्त–दुरुस्त एवं पारदर्शी सेवा नागरिकलाई दिन पाउँदा जनप्रतिनिधिको मुहारमा पनि खुसी झल्किन थालेको वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डलले दाबी गरे ।

 

नगरपालिकाले ९ वटै वडामा विद्युत् सेवा विस्तारसँगै सडक बत्तीको पनि व्यवस्था गरेको छ । नगरभरि सिसिटिभी क्यामेरा जडान गरिएको छ । उज्यालो रंगेली बनाउने नगरको योजना साकार हुँदै गएको छ । यसरी उज्यालो नगर बनाउन जडान गरिएका बत्तीको महसुल नगरपालिकाले नै तिर्ने गरेको नगरप्रमुख दिलीपकुमार अग्रवालले जानकारी दिए ।

 

नागरिक सन्तुष्टि नै सुशासन मापनको आधार हो । नागरिकलाई कानुनी शासनको प्रत्याभूति र सुशासनमा अब्बल बनाउने रंगेलीको प्रयास प्रशंसनीय बन्न पुगेको छ ।