close

नागरिकलाई प्रशासनिक पहुँच सहज बनाउँदै चैनपुर

नागरिकलाई प्रशासनिक पहुँच सहज बनाउँदै चैनपुर

Trulli
ADVERTISEMENT

संखुवासभा–नागरिकलाई घरदैलोमै सरकारी सेवा–सुविधाको सहज पहुँच पुर्‍याउन स्थानीय तहले प्रयास गरिरहेका छन् । सेवाग्राहीलाई उपलब्ध गराउने सेवा–सुविधाबाटै सुशासनको अंक मापन हुने हुँदा जनप्रतिनिधिले सेवा प्रवाहलाई विशेष ध्यान दिएर काम गरिरहेका छन् । संखुवासभाको चैनपुर नगरपालिकाले पाँच वर्षमा नागरिकलाई प्रशासनिक सेवाको पहुँचमा पुर्‍याएर सुशासनमा उदाहरणीय बनेको छ । 
सामान्य सरकारी कामका लागि घन्टौँको पैदल दूरी हिँडेर जिल्ला मुकाम जानुपर्ने अवस्था अहिले हटेको छ । चैनपुर नगरपालिकाले अहिले आफ्नै भवन बनाएर एकै ठाउँबाट सेवा प्रवाह गर्न थालेको छ । पहिलेजस्तो विभिन्न भवनमा भौतारिनुपर्ने बाध्यता हटेर गएको छ । नगरपालिकाले नागरिकलाई प्रदान गरिने सम्पूर्ण सेवा–सुविधाबारे नागरिक बडापत्रमार्फत जानकारी दिने गरेको छ ।

 

पालिकाभित्र रहेका विभिन्न शाखालाई छुट्याएर सेवाग्राहीको सजिलोका लागि विषयगत समिति, विभिन्न शाखा र कर्मचारी व्यवस्थापन गरिएको छ । सेवा प्रवाहलाई सहज बनाउन नगरपालिका कार्यालय तथा वडाहरूमा डिजिटल सूचना बोर्ड राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले बताए । 


नगरभित्र सञ्चालन हुने कार्यक्रमलाई थप प्रभावकारी र पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, नागरिक अनुगमन, प्रगति समीक्षा र समन्वय बैठकमार्फत सुशासनमा जोड दिने गरिएको छ । यसबाट प्रशासनिक काम गर्न कर्मचारीलाई सहज भएको छ भने नागरिकले पनि बिनाझन्झट सेवा लिन पाइरहेका छन् । वडालाई जिम्मेवार बनाउन केही अधिकार दिइएको छ । यसले गर्दा नागरिकले वडाबाटै धेरै सेवा–सुविधा प्राप्त गर्न सकेको  नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए ।


 
धेरै सेवाग्राहीका लागि वडा कार्यालय अझ नजिक हुन्छ । वडामा अधिकार प्रत्यायोजन गरिँदा र सेवा लिन जाने ठाउँको दूरी कम हुँदा नगरबासी लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत ढकालको दाबी छ । 

 

योजना अनुगमनका लागि उपप्रमुखको संयोजकत्वमा समिति गठन गरी काम–कारबाहीबारे जानकारी लिने र कमसल काम भए सजग गराउने गरिएको छ । कुनै पनि काममा सूचना चाहिए अथवा त्यसबारे गुनासो सुन्नुपरे सूचना अधिकारीको व्यवस्था गरिएको छ । नागरिकलाई सुशासन प्रत्याभूत गराउने गरी प्रत्येक वडा कार्यालयमा सुझावपेटीका राख्ने गरिएको छ । । नगरपालिकाले १५औँ राष्ट्रिय योजनाको सुशासन कायम गर्ने संघीय सरकारको लक्ष्य पछ्याउँदै गर्दा नागरिकले यसबाट प्रत्यक्ष लाभ लिन सकेका छन् ।