close

गाउँटोलमै प्रशासनिक सेवा दिँदै इलाम

गाउँटोलमै प्रशासनिक सेवा दिँदै इलाम

Trulli
ADVERTISEMENT

इलाम–स्थानीय तहबाट नागरिकले प्रशासनिकदेखि विभिन्न सेवा–सुविधा हकभोग गर्न पाउने संवैधानिक व्यवस्था छ । पालिकाको केन्द्र र वडा तहबाट नागरिकले पाउने सेवाको सूची लामो छ । संघीयता कार्यान्वयन हुनुअघि स–साना कामका लागि पनि जिल्ला सदरमुकाम र राजधानी धाउनुपर्ने बाध्यता अहिले हटेको छ ।  इलाम नगरपालिका संविधानले तोकेअनुसार नागरिकलाई प्रशासन, मालपोत, स्वास्थ्योपचार, शिक्षालगायतका सेवामा पहुँचमा पु¥याउन सफल भएको छ ।

 
संघीयताको मूल मर्म भनेकै स्थानीय तहले नागरिकलाई गाउँतहबाटै आवश्यक पर्ने प्रशासनिक सेवा–सुविधा दिनु हो । संघीयता कार्यान्वयन हुनुअघि दूरदराजका नागरिकलाई प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अहिले हटेको छ । इलाम नगरपालिकाले आप्mना नागरिकलाई सहज प्रशासनिक सेवा–सुविधा दिन वडा कार्यालय र घुम्ती शिविरसमेत सञ्चालन गरिरहेको छ । नगरपालिकाले सार्वजनिक सेवा प्रवाहबाट जनताको विश्वास आर्जन कसरी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेको वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताए ।

 

स्थानीय तहबाट प्राप्त गर्ने सेवा र सुविधा जति सहज र सुलभ हुन्छ त्यतिनै नागरिकको जनप्रतिनिधिमाथि विश्वास बढ्ने हो । सार्वजनिक सेवाका क्षेत्र जनमैत्री हुँदा त्यसको प्रत्यक्ष लाभ नागरिकले प्राप्त गर्छन् भने यसले लोकतान्त्रिक पद्धतिलाई पनि सँगसँगै दर्बिलो बनाउँदै लगेको नगरपालिकाका सेवाग्राही देवेन्द्र राईको अनुभव छ । 

 

नगरपालिकाले आधुनिक सूचना प्रविधि उपयोग गरी भूमिसँग सम्बन्धित स्रेस्ता, नक्सा लगायतका सम्पूर्ण सूचनाहरू कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको छ । यसले भरपर्दो सरल र सहज सेवा प्रवाह गर्न सहज भएको नगरपालिकाका सेवाग्राही स्थानीय गोपाल नेपालको भनाइ छ ।

 

पालिकाबासीलाई सहज ढंगले प्रशासनिक सेवा उपलब्ध गराउन वडा तहमा प्राविधिकको व्यवस्था, निःशुल्क परामर्श सेवा दिने क्रम जारी छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नागरिकले सुशासनको महसुस गरिरहेका छन् । पहिलो आउनेलाई पहिलो प्राथमिकता दिने नगरको नीति छ । छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने गरिएको छ । सकभर नागरिकले प्रशासनिक झमेला बेहोर्न नपरोस् भनेरै काम हुने गरेको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत कालीबहादुर भुजेलले बताए ।

 

नागरिकलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले सबै सेवालाई डिजिटलाइज गरेको छ । अशक्त र अपाङ्गता भएका व्यक्ति सेवा लिन नगरपालिका कार्यालय जानैपर्दैैन । कार्यालयमा रहेको हेल्प डेस्कबाट नागरिकले विभिन्न जिज्ञासा मेट्न सक्ने अवस्था सिर्जना भएको छ । नगरपालिकाका १२ वटै वडा कार्यालयमा जडान गरिएको सिसिटिभीलाई नगर प्रमुखकै कार्यकक्षमा हेर्न मिल्ने गरी व्यवस्था गरिएको छ । यसले कर्मचारीको काममा छरितो पन देखिएको छ भने कोही पनि सेवाग्राही सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।

 

नगरले सेवा प्रवाहसँगै सुशासनलाई पनि ध्यान दिएको छ । विधिसम्मत काम गर्नकै लागि नगरपालिकाले आवश्यक कानुन निर्माण गरेको छ । आफूले बनाएको कानुनको अधीन रहेर काम गरेकाले नगरबासीलाई सुशासनको प्रत्याभूत गराउन नगरपालिका सफल भएको छ । प्रशासनिक संयन्त्रमा भएको ठूलो परिवर्तनको नागरिक स्वयंले मूल्यांकन गरेकाले जनप्रतिनिधिबाट हुने गल्ती कम भएका छन् ।