close

२ जना वडा सचिवको भरमा ७ वटा वडाकार्यालय

२ जना वडा सचिवको भरमा ७ वटा वडाकार्यालय

Trulli
ADVERTISEMENT

डोल्पा - गाउँपालिकाको प्रत्येक वडामा वडासचिव, जनप्रतिनिधि, केही प्राविधिक कर्मचारी र कार्यालय सहयोगी अनिवार्यजस्तै हो । तर काइके गाउँपालिकामा गत माघदेखि २ जना वडा सचिवले सिंगो पालिकालाई धान्दै आएको छ । 

गाउँपालिका क्षेत्रमा ७ वटा वडा कार्यालय रहेका छन् । तीमध्ये ४ वटा वडा र ३ वटा वडा गरी एक एक जना वडा सचिवले सञ्चालन गर्दै आएका छन् ।  गाउँपालिकामा वडा नम्बर (१ देखि वडा नम्बर ४ सम्म) वडासचिवको जिम्मेवारी एलिजा अधिकारीले सम्हाल्दै आएका छिन् । पालिकाखबरसँगको संवादमा वडासचिव अधिकारीले भनिन्,‘गत माघदेखि मैले १ देखि ४ सम्म र देवेश सरले ५ देखि ७ सम्म हेर्नुहुन्छ ।’ 

वडासचिव अधिकारीका अनुसार जनसंख्या थोरै भएकाले स्थानीयको गुनासो नआउने गरी काम भइरहेको छ । साथै पञ्जिकरणका कामहरूमा गाउँपालिकाबाट सहयोग पाउने उनको भनाइ छ । अर्का वडासचिव देवेश कुमार विष्ट वडा नम्बर ५ देखि ७ सम्मको वडासचिवको जिम्मेवारीमा छन् । 

गाउँपालिकामा कर्मचारी कम भएकोले थप कर्मचारी माग गरिएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुली बताउँछिन् । उनले ४ जना वडासचिव रहेको दाबी गरिन् । ४ जना वडा सचिव रहेपनि किन दुईजनालाई मात्र जिम्मेवारी दिनु भएको भन्ने पालिकाखबरको प्रश्नमा उनले भनिन् ‘अहिले केही कर्मचारी माग गरिएकाले आइरहेको छ ।

गाउँपालिकामा हाल ३३ जना दरबन्दी रहेको उनले बताइन् ।  यस सम्बन्धमा गाउँपालिका अध्यक्ष अंगद कुमार रानासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।