close

दुई वटा पालिकाको चपेटामा प्रमुख प्रशासकीय अधिकृत पोखरेल

सरुवा भएको पालिकामा हाजिरी गर्न पाएनन्

दुई वटा पालिकाको चपेटामा प्रमुख प्रशासकीय अधिकृत पोखरेल

सरुवा भएको पालिकामा हाजिरी गर्न पाएनन्

Trulli
ADVERTISEMENT

इलाम- माइजोगमाई गाउँपालिकाले भर्खर सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेललाई हाजिरी गर्न दिएको छैन । ताप्लेजुङ्गको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई हाजिरी गर्न नदिएको हो । 

सिरिजङ्गाबाट १० दिन अघिमात्रै माइजोगमाईमा उनी सरुवा भएका थिए । गाउँपालिकाको रमनापत्र दर्ता भएपछि हाजिरीपत्र माग गर्दा हाजिरी गर्न नदिएको पोखरेलले बताए । गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले विना कारण हाजिरी गर्न नदिएको आरोप उनले लगाएका छन् ।

टेलिफोनमार्फत पालिकाखबरसँग सम्पर्कमा आएका पोखरेलले भने, ‘विना कारण मलाई हाजिरी गर्न दिनु भएन । गाउँपालिकाले अध्यक्षले आफू नभएकाले बेला आएकाले हाजिरी गर्न नदिएकाे  भन्नु भएकाे छ ।’

गाउँपालिकामा हाजिरी गरेपछि आफू विदामा बस्ने योजना बनाएको उनले सुनाए । तर गाउँपालिकाले हाजिरी गर्न नदिएपछि हाल विदामा बसेको उनले जानकारी दिए । विदा सकिएसँगै पुन: कार्यक्षेत्र जाने र हाजिरी गर्न नदिएमा मन्त्रालयमा जाने उनकाे भनाइ छ ।

गाउँपालिका अध्यक्ष थेबेले  सिरिजङ्गा गाउँपालिकालाई आफू सरुवा भएको केही समयपछि सम्पर्क गर्न खोज्दा पनि अध्यक्षले कुनै जवाफ नदिएको उनले बताए । उनले आफू माइजोगमाईमा हाजिरी गर्नको लागि सिरिजङ्गाको अडिट रिर्पोट आवश्यक नभएको दावी गरेका छन् । 

गाउँपालिकाका अध्यक्ष थेबेले प्रमुख प्रशासकीय अधिकृत पोखरेलले सिरिजङ्गा गाउँपालिकाबाट अडिट रिर्पोट नल्याएकोले हाजिरी गर्न नदिएको दाबी गरेका छन् । ‘अडिट रिर्पोट ल्याएपछि मात्रै गाउँपालिकामा हाजिरी गर्न दिने भनेको थिए । तर उहाँले ल्याउनु भएन,’ उनले भने । 

आफूले टेलिफोनमार्फत प्रमुख प्रशासकीय अधिकृत पोखरेलसँग कुराकानी गरेको र सो संवादपछि आफूहरु सम्पर्कमा नरहेको उनले पालिकाखबरलाई बताए । अडिट रिर्पोट  ल्याएसँगै हाजिरी हुने उनको भनाइ छ । 

उता सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले प्रमुख प्रशासकीय अधिकृत पोखरेल १२ दिन अघि मात्रै सरुवा भएर गएको जानकारी दिएका छन् । सरुवा भएपनि मंगलबार मात्रै अडिट रिर्पोट तयार भएको उनले बताए । उनले भने, ‘आज मात्रै महालेखा परीक्षकको कार्यालयबाट अडिट रिर्पोट आएको छ । अब उहाँको काम हुन्छ ।’