close

नगरपालिकाबाट मालपोत र नापीको सेवा सुरु

नगरपालिकाबाट मालपोत र नापीको सेवा सुरु

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– आठबिसकोट नगरपालिकाबाट मालपोत र नापीको सेवा सुरु भएको छ । सेवाग्राहीहरुलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले नापी तथा मालपोत कार्यालयबाट आइतबारदेखि सो सेवा आरम्भ गरिएको हो । 

आईतबार एक कार्यक्रमका बीच आठबिसकोटका नगर प्रमुख  रवि केसीले  उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । यसअघि आठबिसकोटका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन सदरमुकाम मुसिकोट पुग्नुपर्ने बाध्यता थियो । नागरिकले सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरेको हो ।

विसं २०७८ चैत १७ गतेको मन्त्री परिषद बैठकले बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशला, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आठबिसकोटमा स्थापना भएका दुबै कार्यालयलाई सञ्चालनमा ल्याईएको हो । 

आजदेखि सेवा सुरु भएको उक्त कार्यालयमा पहिलो सेवाग्राहीका रुपमा देउदत्त बटाला र प्रेम बहादुर शाहीले सेवा लिएका छन्। उनिहरुलाई नगरप्रमुख केसीले जग्गा धनी प्रमाणपत्रसहित कागजात हस्तान्तरण गरेका थिए । पहिलो सेवाग्राहीका रुपमा सेवा लिएका बटाला र शाहीले आफ्नै घर नजिकबाट नापी र मालपोतको सेवा लिन पाउँदा खुसी व्यक्त गरे ।

सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख केसीले लामो समयदेखि स्थानीयले खेप्दै आएको असहजता र जग्गाको कारोबारको लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, ‘मालपोत तथा नापी कार्यालयमा नापनक्सा तथा जग्गा प्रशासन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्शी गुणस्तरीय बनाउने कार्यमा नगरपालिका कटिबद्ध रहेको छ ।’ कार्यालयबाट छिटो, छरितो र सहज तरिकाले सेवा प्रवाह हुने विश्वास दिलाउँदै नगरप्रमुख केसीले पालिकाबाट सेवा लिन पाइने भएपछि समयको बचतसँगै अनावश्यक झन्झटबाट पनि नागरिकले मुक्ति पाएको बताए । 

उक्त कार्यक्रममा आठबिसकोटका नगरप्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, कर्मचारी, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।