close

जात्रा र नाच संरक्षण गर्न ललितपुर महानगरको अक्षय कोष स्थापना

जात्रा र नाच संरक्षण गर्न ललितपुर महानगरको अक्षय कोष स्थापना

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुर महानगरपालिकाले ऐतिहासिक, सांस्कृतिकसँगै धार्मिक महत्त्वका जात्रा, नाच संरक्षणका लागि अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षय कोष स्थापनाका लागि सहयोग गरेको हो । 


महानगरले कात्तिक नाचको अक्षय कोषका लागि ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरले आर्थिक वर्ष ०७८÷७९ को बजेटबाट उक्त रकम हस्तान्तरण गरेको हो । अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष ०७७÷७८ को बजेटबाट ५० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । कात्तिक नाचको अक्षय कोष १ करोड रुपैयाँ भएको छ । 


महानगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक अभावमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वका जात्रा, नाचको अस्तित्व संकटमा परेकाले अक्षय कोषका लागि सहयोग गरेको बताए । ‘अघिल्लो वर्ष कात्तिक नाचलाई १ करोड रुपैयाँको अक्षय कोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ’, उनले भने ।


कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले ललितपुर महानगर प्रमुखले प्रतिबद्धताअनुसार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेकाले धन्यवाद दिए । ‘अब आर्थिक अभावमा नाच रोकिँदैन । यसलाई बढाएर बढाएर १० करोड बनाउँछौँ,’ उनले भने । ललितपुर महानगर वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले सम्पदा संरक्षणमा महानगरले उदाहरणीय काम गरेको बताए । वडा बजेटबाट पनि कात्तिक नाचको अक्षय कोषका लागि १० लाख रुपैयाँ हस्तान्तरण गरिसकेको उनले जानकारी दिए ।

 


हरिसिद्धि भवानीदेवी नाचको अक्षय कोषका लागि २५ लाख हस्तान्तरण भइसकेको छ भने आव ०७८÷७९ मा पनि २५ लाख रुपैयाँ उपलब्ध गराइने महानगरले जनाएको छ । खोकनामा देखाइने रुद्रायणी नाचका लागि महानगरले २५ लाख हस्तान्तरण गरिसकेको छ । 


त्यसैगरी आर्थिक वर्ष ०७८÷७९ मा २५ लाख रुपैयाँ दिने कार्यक्रम छ । महानगरले दसैंका बेला देखाइने खड्ग जात्राको अक्षय कोषका लागि २५ लाख रुपैयाँ छुट्याएको छ । २४ वर्षसम्म स्थगित यो जात्रा चार वर्ष अघिबाट देखाउन सुरु गरिएको छ । महानगर प्रमुख महर्जनले अक्षय कोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुस्किल नहुने दाबी गरे ।