close

वडाध्यक्षले बाँडे गरिबको राहत आफन्तलाई

वडाध्यक्षले बाँडे गरिबको राहत आफन्तलाई

Trulli
ADVERTISEMENT

सुनसरी(देवानगञ्ज)- सुनसरीको देवानगञ्जमा वितरण गरिएको राहतमा अनियमितता गरेको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । गरिबका लागि आएको राहतमा अनियमितता भएको दाबी गर्दै देवानगञ्ज वडा नम्बर ४ को कार्यालय स्थानीयले घेराउ गरेका हुन् ।

 

आफूखुसी राहत बाँडेर अनियमितता गरिएको स्थानीयको आरोप छ । देवानगञ्ज वडा नम्बर ४ मा प्लान नेपालले अतिविपन्न परिवारका लागि नगद १० हजार रुपैयाँ बराबरको खाद्य सामग्री वडाध्यक्ष चन्देश्वरप्रसाद मेहतालाई हस्तान्तरण गरेको थियो । तर, गत साता उक्त सामग्री वडाध्यक्षले हुने-खानेलाई दिएको स्थानीयको आरोप छ ।

 

‘हुने-खानेले राहत पाए । अतिविपन्न परिवारले नपाएपछि वडा कार्यालय घेराउ गरेका हौँ,’ स्थानीय जलिल मियाँले भने । उनका अनुसार २०८ जनालाई राहत वितरण गरेको सो राहत वडाध्यक्षले आफन्तलाई मात्र वितरण गरेका हुन् । ‘धनी र वडाध्यक्षका आफन्तलाई मात्र राहत वितरण गरियो’, उनले थपे ।

 

स्थानीय अनितादेवी मण्डलले दैनिक ज्याला मजदुरी गरेर खानेलाई राहत नदिएर वडाध्यक्षका नातागोतालाई बाँडियो । उनले भनिन्, ‘राहत लिन मैले पनि आफ्नो नाम दिएँ तर वडाअध्यक्षले आफूखुसी राहत बाँडे । हामीलाई दिएनन् ।’

 

स्थानीय सवितादेवी मण्डलको पनि गुनासो त्यस्तै छ । स्थानीयले राहतमा अनियमितता भएको दाबी गर्दै वडा कार्यालयअगाडि धर्ना दिए पनि वडाध्यक्ष गुनासो बुझ्न आएनन् । वडा कार्यालयका सचिवले अध्यक्ष चन्देश मेहतालाई फोनमा सम्पर्क गरेर स्थानीयको गुनासो सुनाएका थिए ।

 

अनियमिताबारे अध्यक्ष मेहताले भने, ‘अहिले विद्युत् कार्यालय इनरुवामा छु । ६ वैशाखमा सबै स्थानीयलाई आउन भन्नू । क-कसको गुनासो के छ, बुझ्छु ।’