close

४३आ‍ैं प्रधानमन्त्रीकाे रुपमा ओलीले लिए सपथ, मन्त्रीहरुमा पुरानै अनुहार

४३आ‍ैं प्रधानमन्त्रीकाे रुपमा ओलीले लिए सपथ, मन्त्रीहरुमा पुरानै अनुहार

Trulli
ADVERTISEMENT

काठमाडौं- ४३ औं प्रधानमन्त्रीका रूपमा केपी ओलीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार सपथ दिलाइन् ।


गत मंगलबार संसद्मा विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका ओली राष्ट्रपतिले आह्वान गरेको तीन दिने समयसीमामा कसैले बहुमतको सरकार बनाउन नसकेपछि बिहीबार संसद्को ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।


देशमा कोरोना भाइरसको संक्रमणले भयावह रूप लिएको छ । यसबीचमा स्थानीय सरकारले आ-आफ्नो भूमिका खेलिरहेका छन् । शुक्रबार पुनः प्रधानमन्त्रीको सपथ लिइरहँदा स्थानीय सरकारले भने अब केही समय संक्रमण रोक्नेतर्फ ध्यान दिन ओलीलाई सुझावसहितको शुभकामना दिएका छन् ।

 

संसद्बाट विश्वासको मत नपाएपछि ओली स्वतः पदमुक्त भए । ओलीले विश्वासको मत नपाएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । २०७४ को फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओली पदमुक्त भए । राजनीतिक दलहरूले विश्वासको मत नदिएपछि अपदस्थ भएसँगै राष्ट्रपति भण्डारीले मंगलबार राती संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिन् । 


मंगलबार रातीदेखि दलहरू कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न कसर गरिरहे । तर, जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहको ओली प्रेम, ओलीले माधव नेपालसहितका ४ जना एमाले नेतामाथि गरेको कारबाही फुकुवापछि घटनाले नाटकीय मोड लियो । राजनीतिक घटनाक्रम मोडिएसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाबीच तालमेल गरेर देउवा नेतृत्वमा बहुमतको सरकार बनाउने प्रयत्न विफल भयो ।


राष्ट्रपतिले दिएको समयसीमासम्म कुनै पनि दलले बहुमतको सरकारको नेतृत्वका लागि दाबी नगरेपछि ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओली पुनः मुलुकको प्रधानमन्त्रीका रूपमा बागडोर सम्हाल्ने अवसर पाए । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसद्मा रहेको सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा नियुक्त भए । 


के भयो बिहीबार दिनभर ?

 

बिहान ९ बजे: नेकपा एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्रका विष्णु पौडेल वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगे । नेपालले बुधबार राती ओलीले गरेको फोन रिसिभ नगरेपछि पौडेल बिहानै ओली सन्देश लिएर नेपाल निवास पुगे ।


बिहान ९ बजे: एमाले अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बोलाए । पार्टीभित्रका असन्तुष्ट समूहको माग सम्बोधन गर्ने बैठकको एजेन्डा थियो । बैठकले नेपाल समूहका आंशिक माग सम्बोधन गर्ने तयारीसमेत गरेको स्थायी कमिटी सदस्यले दाबी गरे ।


बिहान ९ः ३० बजे: नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरूसमेत सक्रिय भए । कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय हुँदै नेपाललाई भेटे । राजीनामाभन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न सुझाए ।


मध्यह्न १२ बजे: नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा ग¥यो । नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा भयो । राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिइयो ।


दिउँसो १२ः३० बजे: एमाले स्थायी कमिटीले निलम्बन फुकुवा गरेसँगै अध्यक्ष केपी ओलीलाई दियो, ४ बजेसम्मको डेडलाइन, २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने नेपाल समूहका नेता भीम रावलले बताए ।


मध्याह्न १२ः३० बजे: वैकल्पिक सरकारको नेतृत्व दाबी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसे । बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरे ।


मध्याह्न १२ः ४५ बजे: कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाए ४ बजेका लागि पदाधिकारी बैठक । महन्थ ठाकुरसँग भएको कुराबारे बैठकलाई अवगत गराउन बैठक आह्वान गरियो । बैठकपछि नयाँ सरकारको दाबी प्रस्तुत गर्ने ।


दिउँसो २ बजे: जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरे । ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह गरे । समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाए ।


दिउँसो २ बजे: नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा भेटवार्ता भयो । चार नेतामाथिको कारबाही फिर्तापछि एमाले अध्यक्ष ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थाले । माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बोलाउने तयारी गरियो ।

 

दिउँसो २ बजे: कांग्रेस सभापति देउवालाई भेटेर जसपा अध्यक्ष ठाकुरले बोलाए छुट्टै्र भेला । आफू निकट सांसदको सहभागी रहेको भेलामा देउवाले गरेको प्रस्तावबारे ब्रिफिङ गरे । कुनै पनि हालतमा सरकार बनाउन सहयोग नगर्नेबारे अडिग रहन सांसदलाई सुझाव दिए ।


दिउँसो २ः ३० बजे: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति देउवा भेट्न बूढानीलकण्ठ पुगे । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा दलका शीर्ष नेताहरूले भेटघाट गर्दै सरकार बनाउने विषयमा छलफल गरे । महन्थ ठाकुरले सहयोग गर्न नसक्ने कुराको देउवाले प्रचण्डलाई ब्रिफिङ गरे ।

 

दिउँसो २ः ४५ बजे: जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्ट पु¥याए । ठाकुरका १७ सांसदमध्ये रिसोर्टमा १३ सांसद सहभागी भए । सांसदलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै गए ।

 

अपराह्न २ः ५० बजे: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच २० मिनेट भेट भयो । राष्ट्रपतिले तोकेको समयमै देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दाबी लिएर शीतलनिवास जाने सहमति भयो ।

 

अपराह्न ४ बजे: नयाँ सरकारको दाबी पेस गर्ने तयारी अघि बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक सुरु गरे । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल ।

 

अपराह्न ४ः ३० बजे: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति बैठक बोलाए ।

 

अपराह्न ५ः ०० बजे: बहुमतको सरकार बनाउने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु । गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको कुराकानीबारे कमिटीमा ब्रिफिङ गर्ने प्रचण्डको तयारी ।


साँझ ६ः ०० बजे: चार घन्टा लामो नेकपा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकियो । कार्यदल गठन गरेर अघि बढ्ने सहमति, दुई चार दिनका लागि राजीनामा टरेको नेपालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।


साँझ ६:२५ बजे: माओवादी केन्द्रको स्थायी समितिको बैठक सकियो । नेकपा माओवादी केन्द्रले एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकाल्यो ।


साँझ ६ः ४९ बजे: कांग्रेस पदाधिकारीको बैठक सकियो । वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि नयाँ सरकार गठनको राष्ट्रपतिसँग दाबी नगर्ने बैठकले निर्णय गर्‍यो । फेरि पनि प्रधानमन्त्री केपी ओली नै हुने निश्चित भएको बैठकको निष्कर्ष ।


८ः०० बजे: बहुमत सरकार बनाउन नसक्ने निष्कर्ष निकालेसँगै जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो बालुवाटारमा, पुनः प्रधानमन्त्री नियुक्त भएकामा बधाइ दिए ।


८ः३० बजे: नेकपा एमालेले दुई वा दुईभन्दा बढी दलको बहुमत लिएर सरकारको दाबी नगर्ने जनायो । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस–माओवादीले दाबी नगरेपछि एमालेले पनि दाबी नगर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।


राती ९ः०० बजे: बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा सकियो ।


राती ९ः२१ बजेः बहुमतको सरकार गठनका लागि कुनै पनि दलबाट दाबी पेस नभएको राष्ट्रपति कार्यालयबाट जानकारी ।


राती १०ः१९ बजेः राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलका नेता केपी ओली प्रधानमन्त्री पदमा नियुक्त भए । 


यसरी बिहीबार दिनभर कसैले पनि दाबी पेस गर्न नसकेपछि शुक्रबार अपराह्न राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई सपथ गराइयो । सपथ लिएसँगै प्रधानमन्त्री ओली देशको ४३औँ र व्यक्तिगत तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । देश महामारीले गाँजेको छ । अस्पतालमा बिरामी अक्सिजन नपाएर मृत्युवरण गर्न बाध्य छन् । नागरिक सरकार खोजिरहेका छन् भने सरकारलाई स्वास्थ्य संकटकाल लगाउन माग गरिरहेका छन् । 


स्थानीय सरकार आफैँ महामारी न्यूनीकरणमा लागेका छन् । यस्तो समय राजनीतिक दल सरकार बनाउने खेलमा लागेकामा नागरिक त आश्चर्यमा छन् नै, स्थानीय सरकार पनि अब भने सरकारको पूरै शक्ति महामारी नियन्त्रणमा लाग्नुपर्ने बताउन थालेका छन् । प्रधानमन्त्री ओलीलाई बधाई दिँदै संकटकाल लगाउन आग्रह गरिरहेका छन् ।


अब जेठ महिनाभर संसदमा जोडघटाउको कुनै खेल जरुरी छैन । सम्भवतः मन्त्री बन्ने दौडधूप पनि जरुरी छैन, किनभने पुरानै टिमले फेरि सपथ लिए हुन्छ । त्यसैले अबको एक महिना सरकारले राजनीतिलाई बिर्सेर कोरोना नियन्त्रणमा ध्यान दिन जरुरी देखिन्छ । अक्सिजनको अभाव र अस्पतालहरूको जोहो गर्नेतिर आजैका दिनदेखि ध्यान दिनुपर्ने देखिन्छ । सत्ता ढाल्ने र जोगाउने खेलले गर्दा जनताको सुरक्षामा ध्यान पुग्न सकिरहेको छैन, अब यो गल्तीलाई तुरुन्त सच्याइनुपर्छ । सरकारले सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको अक्सिजनको जोहो नै हो । यसका साथै संक्रमितको उपचारका लागि अस्पताल र बेडहरूको व्यवस्थापन हो ।