close

भरतपुर अस्पतालको शवगृह: सडेगलेको अवस्थामा बेवारिसे शव

भरतपुर अस्पतालको शवगृह: सडेगलेको अवस्थामा बेवारिसे शव

Trulli
ADVERTISEMENT

चितवन- चितवनको एक मात्र शवगृह अर्थात् पोस्टमार्टम कक्षमा हरेक दिन फरक-फरक प्रकृतिका शव परीक्षणका लागि ल्याउने गरिएको छ । भरतपुर अस्पतालको शवगृहमा रहेका शव व्यवस्थापन गतिलोसँग हुन नसक्दा समस्या देखिएको छ । शवगृहमा आउने अधिकांश सवारी दुर्घटना र आत्महत्यालगाएत बेवारिसे शव हुने गर्छन् ।

 

शवगृहमा पोस्टमार्टमका लागि ल्याइने शव व्यवस्थापन कक्ष र उपर्युक्त उपकरणसहितको नहुँदा शवगृह दुर्गन्धित बनेको छ । आन्तरिक शव व्यवस्थापन कक्षमा सुविधायुक्त शवगृहको आइस फ्रिज रेफ्रिजेरेटर नहुँदा भित्रको दुर्गन्धले जान सकिँदैन । विशेष प्रकारका केसलाई लाग्ने समय र प्रमाणीकरणमा ढिलाइ हुँदा शव सडेको अवस्थामा पुगेका हुन् ।


शवलाई चाहिने आवश्यक चिस्यान नहुँदा दुर्गन्ध फैलिएको हो । अहिले शवगृहमा पोस्टमार्टममा खटिने डाक्टर, सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई समस्या पर्न थालेको छ ।

 

भरतपुर अस्पतालमा रहेको शवगृहमा २० वटा रेफ्रिजेरेटर रहेकामा हाल ९ वटा बिग्रिएको अवस्थामा छन् । सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदासमेत मर्मतसम्भार हुन नसकेको भरतपुर सरकारी अस्पतालका सुरक्षा इन्चार्ज प्रहरी हवल्दार विश्वनाथ राय यादव बताउँछन् ।


उनका अनुसार केही शव महिनौँ दिनदेखि अलपत्र अवस्थामा शवगृहमा रहेका र आवश्यक उपकरण कुहिएर दुर्गन्ध फैलिन सक्ने अवस्था छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार बेबारिसे शवले शवगृह भरिएको छ । बेवारिसे शव महानगरले व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था छ । 


तर, महानगरले शव नउठाउँदा अस्पतालले शवगृहमै राख्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । जिल्लाको एक मात्र शवगृहमा चितवनको मात्र नभएर अन्य जिल्ला अस्पतालले पनि शव पठाउँदा व्यवस्थापन गर्न कठिन भएको डा. पौडेल सुनाउँछन् ।

 

भरतपुर अस्पतालले नजिक रहेका नवलपुर, मकवानपुर, धादिङ, गोरखालगायत जिल्लालाई पत्राचार गरेर नै शव नपठाउन आग्रह गरेको र सम्बन्धित जिल्ला अस्पतालमै शव परीक्षण गर्ने व्यवस्था मिलाउन भने पनि शव आउने क्रम नरोकिएको डा. पौडेलले बताए ।

 

भरतपुर अस्पतालको शवगृहमा रहेका २० वटा रेफ्रिजेरेटरमध्ये १६ वटामा पूरै बेवारिसे शव रहेका छन् । सोमबार मात्रै महानगरले ३ वटाबाहेक अन्य शव व्यवस्थापन गरेको डा. पौडेलले जानकारी दिए । बेवारिसे अवस्थाका शव कानुनतः २ महिना अवधि पुगेपछि मात्रै स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । यहाँ आउने बेवारिसे शव भतरपुर महानगरले व्यवस्थापन गर्दै आएको छ । 


मेडिकल सिटीको रूपमा पहिचान बनाएको भरतपुर र मेडिकल भएको ठाउँमा एउटा मात्र शवगृह हुनु अचम्मको विषय भएको डा. पौडलको भनाइ छ ।