close

तेल्लोकमा इलाका प्रशासन स्थापना गर्न गृह गुहार्दै सिरिजंगा

तेल्लोकमा इलाका प्रशासन स्थापना गर्न गृह गुहार्दै सिरिजंगा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले नागरिकता प्रमाणपत्रसहितको सेवा प्रवाह हुने गरी पालिका केन्द्र तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना गरिदिन गृह मन्त्रालयमा अनुरोध पत्र पठाउने भएको छ । 

 

गाउँ कार्यपालिकाको बैठकले जनसंख्याका हिसाबले ताप्लेजुङकै दोस्रो ठूलो र भौगोलिक हिसाबले समेत विकट स्थानीय तह रहेकाले पालिका केन्द्र तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना गरिदिन गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय लिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना हुन सके सिदिङ्वा गाउँपालिका र पाथीभरा याङ्बरक गाउँपालिकाका केही नागरिकसमेतलाई पायक पर्ने हुँदा यस्तो माग पठाउने निर्णय लिएकोसमेत घिमिरेले बताए ।


इलाका प्रशासन कार्यालयका लागि आवश्यक भवनसहितका प्रशासकीय सामग्री पालिकाले उपलब्ध गराउने मञ्जुरीसमेत प्रदान गरेको छ । 

पालिकाको केन्द्र तेल्लोकमा इलाकमा प्रहरी कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्रसहितका निकाय सञ्चालनमा छन् । यो इलाका प्रशासन कार्यालय सञ्चालनका लागि आधारसमेत भएको पालिकाको बुझाइ छ ।

 

‘सबै दृष्टिले इलाका प्रशासन कार्यालय सञ्चालन गर्न पालिका केन्द्र तेल्लोक उपयुक्त देखिएकाले कार्यपालिकाको बैठकले गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय लिएका हौँ’, पालिका अध्यक्ष टीकाराम गुरुङले भने ।