शून्य फोहोरको अवधारणा पछ्याउँदै बुटवल उपमहानगर र सैनामैना


  • change font
  • change font
  • change font

रूपन्देही– तपाईं–हामीकहाँ शौचालय भरियो भने त्यसलाई स्यानिटरीवालले तानेर लगेर कता फाल्छ र के गर्छ, केही थाहा हुन्न । हाम्रै घरमा निस्किएको फोहोरको समेत नगरपालिकाले कहाँ, कसरी व्यवस्थापन गरिरहेका छन्, त्यसमा पनि चासो छैन । 

 

कुहिने र नकुहिने दुबै प्रकारका फोहोरलाई एउटै भाँडामा हाल्यो, सफाइको गाडी आउँछ । त्यसैमा फालिदियो । महिना बित्छ, रसिद लियो र पैसा ति¥यो ।

 

केही दिन गाडी आएन भने फोहोर थुप्रो लाग्यो । त्यसको तस्बिर खिच्यो अनि आफ्ना पालिकालाई गाली ग¥यो । फोहोरको प्रकृति अलग–अलग गरेर जैविक मल बनाउने र उपयोग गर्नेबारे हाम्रो ध्यानै जाँदैन । यसरी चलिरहेको प्रवृत्तिलाई अब बुटवल उपमहानगर र सैनामैना नगरपालिकाले नयाँ ढंगमा बदल्ने तयारी गरेका छन् । 

 

बुटवल–सैनामैनामा शून्य फोहोरको अवधारणाका साथ यस्तो नमुना कामको थालनी भएको हो । अबको केही महिनामै यो काम सुरु हुने तयारी छ । यी दुई नगरको तयारी छिमेकका अरू पालिकासमेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने रहेको छ । केन्द्रमा फोहोरको प्रकृति अलग–अलग गरेर प्रशोधन गर्ने, मल, वायो ग्यास निकाल्नेलगायत प्लान्ट जडान गरिनेछन् ।

 

यसका लागि जग्गाव्यवस्था भइसकेको छ । उक्त जग्गामा प्राविधिक, वातावरणविद् लगेर अध्ययन गराउनेदेखि वैकल्पिक ऊर्जा र जैविक मलका जानकारसँग कयौँ पटक विषयकेन्द्रित छलफल भएका छन् । वातावरणीय प्रभाव मूल्यांकनसमेत गराएर थप प्राविधिक अध्ययनपछि प्लान्ट निर्माण गर्ने तयारी छ । काम सुरु नहुँदै विरोध हुने र कुरै नबुझी विरोधका लागि विरोध गर्ने, भड्काउने प्रवृत्ति छ । यसले तयारी भइरहेका कैयन योजनामा अवरोध सिर्जना हुने गरेका छन् । 

 

अहिलेको यो योजना बस्तीभन्दा टाढा र उपयुक्त स्थानमा रहेको बताइएको छ । झन्डै १६ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भए पनि विरोध मात्रै गरिरहने प्रवृत्तिका कारणले पूरा हुन नसकिरहेका बेला यी नगरले यसपटक भने प्रभावकारी र योजनाबद्ध कामको थालनी गरेका छन् । जनप्रतिनिधि निर्वाचित भएपसँगै आवधिक र दीर्घकालीन महत्त्वका योजना बनाएपछि फोहोर व्यवस्थापनको काम प्राथमिकतामा परेको हो । 

 

फोहोरमैलालाई जैविक र अजैविक छुट्याई कम्पोस्टिङ मल तयार गर्ने एवं वैकल्पिक ऊर्जासमेत उत्पादन गर्ने योजनाका साथ बुटवल, सैनामैना, कञ्चन गाउँपालिकाबीचमा छलफल चलिरहेको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए । ‘यसको उपयुक्त केन्द्र खोजी भइरहेको छ र प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भइरहेको छ,’ प्रमुख सुवेदीले भन्नुभयो, ‘अब फोहोर उठाउने, फाल्ने र पुर्ने वा जलाउने गरेर होइन, उचित प्रशोधन गरेर बहुउपयोग गरिनेछ ।’

 

बुटवलसहित अरू छिमेकका पालिकामा उत्पादन हुने सड्ने र नसड्ने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि प्रभावकारी पहल जरुरी रहेकाले आफूहरूले विज्ञसहित अध्ययन गरिरहेको प्रमुख सुवेदीले जानकारी दिए । उनले लगानीका लागि सार्वजनिक, निजी र सहकारीको माध्यम अपनाउन सकिने गरी छलफल जारी रहेको पनि उनले उल्लेख गरे । 

 

प्रस्तावित प्रशोधन केन्द्रका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर, वातावरणका विज्ञ तथा परामर्शदातासहितको विशेष टोलीले विस्तृत अध्ययन गरेको थियो । विज्ञहरूसहित पालिकाका बीचमा पनि छलफल चलिरहेको र तयारी अन्तिम चरणमा पुगेको सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । ‘फोहोर थुपार्नेभन्दा पनि फोहोरलाई प्रशोधन गरेर बहुउपयोगमा ल्याउने गरी प्रशोधन केन्द्र स्थापना गर्ने हो । यस्तो प्रशोधन केन्द्र विश्वका धेरै मुलुकमा प्रभावकारी रहेको पाइएको छ,’ प्रमुख कार्कीले भने, ‘त्यस्तै प्रविधि प्रयोग गरेर फोहोरको आधुनिक व्यवस्थापन गरिनेछ ।’

 

अब घरबाटै फोहोरलाई वर्गीकरण गराइने र त्यसका लागि समुदाय स्तरमा सचेतनाका समेत कार्यक्रम गरिनेछ । केन्द्रमा जैविक फोहोरबाट जैविक मलदेखि वायोग्यास निकाल्नेसम्मको प्रविधि जडान गर्नेबारे अध्ययन भइरहेको सैनामैना नगर प्रमुख कार्कीको भनाइ छ । 

 

यसबारे बुटवल उपमहानगर, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा विभिन्न चरणका छलफल भएका छन् । ती छलफलमा वैकल्पिक ऊर्जाका जानकार, विषयविज्ञ र अन्य क्षेत्रका विज्ञसमेत दुवै पालिकाका जनप्रतिनिधि र अधिकारी सहभागी हुँदै आएका छन् । 

 

प्रशोधन केन्द्र सञ्चालनमा आएका अरू क्षेत्रको अवस्था र यहाँको सम्भावनालाई समेत तुलना गरेर छलफल तथा अध्ययन गरी काम अगाडि बढाइएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । कुहिने तथा नकुहिने फोहोर छुट्याउने, सुरक्षित ढुवानी गर्ने र त्यसलाई प्रशोधन केन्द्रमा लगेर प्रांगारिक मल बनाउनेबारे समुदाय स्तरमा पनि सचेतनाका कार्यक्रम गरिने प्रवक्ता रेग्मीको भनाइ छ ।


वातावरण क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै र चासो राख्दै आएका विषयविज्ञ युवराज कँडेल सहरमा ठूलो परिमाणमा फोहोरमैला उत्पादन हुने गरेको तर त्यसको बहुउपयोग हुन नसकिरहेको अवस्थामा प्रशोधन केन्द्रमार्फत फोहोरको उचित व्यवस्थापन हुनु सकारात्मक रहेको बताउँछन् । बोरा, झोलामा हालेर फोहोर फाल्ने प्रवृत्तिलाई रोक्नैपर्ने उनको भनाइ छ । फोहोरको वर्गीकरण गरेर घरैदेखि नै व्यवस्थापन गर्न जरुरी रहेको कँडेलले बताए । 

 

वातावरण तथा पर्यावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका वातावरण विज्ञ चक्रपाणि शर्माले अब फोहोरको प्रकृति छुट्याएर जैविक मल उत्पादन गर्ने तथा बायोग्यास निकाल्ने कामको विकल्प नरहेको उनको भनाइ छ ।  प्रांगारिक मलसमेत उत्पादन हुने भएकाले यस क्षेत्रका किसानले स्वस्थ र अर्गानिक तरकारी वा कृषिजन्य उपभोग्य वस्तु उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

 

तराईका सहरमा जनघनत्वसँगै बढेको फोहोर व्यवस्थापनको पेचिलो विषय समाधान नहुँदा अनेकौँ समस्या उत्पन्न भएको उल्लेख गर्दै अधिकृत पन्थीले फोहोरको दीर्घकालीन व्यवस्थापनमा पालिकाहरूको सहकार्यलाई प्रभावकारी बनाइने बताए ।

 

बुटवलको पहल

बुटवल उपमहानगरका १९ वटै वडालाई समेट्ने गरी प्रभावकारी व्यवस्थापनको खाँचो छ । यसअघि कयौँ वर्षदेखि कुरा भए पनि सार्थक हुन सकिरहेको छैन ।

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा व्यवस्थापनको पहल भयो तर अगाडि बढ्न सकेन । यहाँ दैनिक ५३ टन फोहोर संकलन हुने गरेको छ ।  यसरी संकलन हुने फोहोर एडीबीको सहयोगमा दैनिक ८३ टन प्रशोधन गर्ने योजना थियो । 

 

त्यसका लागि बुटवल वडा नम्बर ७ मा रहेको शिवनगर सामुदायिक वनको करिब ५ हेक्टर जमिन छनोट गरिएको थियो । ३७ करोड रुपैयाँ लगानी हुने प्रशोधन केन्द्र निर्माण सन् २०१० मा सुरु भएर सन् २०१५ को डिसेम्बरमा सकिनुपर्ने सम्झौता थियो । 


सुरुमा वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पारित नहुँदा लम्बिएको थियो । ईआईएअनुसार उपमहानगरले वनको सट्टा पाल्पाको साविक तेल्घा गाविसमा ९५ रोपनी किनेर संरक्षण गरी वृक्षारोपण गरेको छ । 


त्यहाँ अहिले हरियो जंगल बनिसकेको छ । त्यसपछि सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी–पप्पु जेभीसँग २८ करोड ९५ लाख ६६ हजार रुपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । 

 

फिल्ड स्तरको काम सुरु गर्नै लाग्दा आफ्नो नजिकमा प्रशोधन केन्द्र राख्न नदिने भन्दै छिमेकी देवदह नगरपालिकाको चरंगेका स्थानीय विरोधमा उत्रिए । दुवै स्थानीय तह बसेर सम्झाउँदा पनि स्थानीयका नाममा विरोध भइरह्यो ।

 

आयोजना अगाडि बढेन । अहिले जनप्रतिनिधि चुनिएपछि अब वैकल्पिक क्षेत्रको खोजी गर्दै दीर्घकालीन व्यवस्थापनको काम सुरु भएको छ । 

 

कति संकलन हुन्छ फोहोर

बुटवलमा ६० टन, सैनामैनामा ३५ टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक संकलन हुँदै आएको छ ।  यो फोहोरमध्ये करिब ७० प्रतिशत कुहिने रहेको लामो समयदेखि फोहोर व्यवस्थापनमा काम गर्दै आएका बुटवलका उद्यमी तथा लामो समयदेखि फोहोर व्यवस्थापनमा खटिँदै आएका बलभद्र पुरीको भनाइ छ ।


३० प्रतिशत नकुहिने तथा पुनः प्रशोधन गर्न मिल्ने खाले फोहोरलाई पनि घरैदेखि प्रकृति छुट्टाउन सकियो भने पुनप्र्रयोग गर्न सकिने पुरी बताउँछन् । प्रशोधन केन्द्र नहुँदा अहिले उपमहानगरसहित यहाँका पालिकाले सबै फोहोर एकै ठाउँ फाल्दै आएका छन् ।