close

बेरुजु कार्यान्वयन कार्ययोजना तयार पार्न स्थानीय तहलाई पत्र

बेरुजु कार्यान्वयन कार्ययोजना तयार पार्न स्थानीय तहलाई पत्र

Trulli
ADVERTISEMENT

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले बेरुजु कार्यान्वयनको कार्ययोजना १५ दिनभित्र तयार पार्न स्थानीय तहसहितका सबै निकायलाई सरकारमार्फत परिपत्र गरेको छ । महालेखा परीक्षक कार्यालयको अनुरोधमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो परिपत्र गरेको छ ।

 

परिपत्रअनुसार बेरुजु फस्र्योटको मासिक प्रगति विवरण प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र पेस गरिसक्नुपर्नेछ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनमा समावेश भएका बेरुजु कार्यान्वयनको कार्ययोजना १३ असोजभित्र तयार पारिसक्नुपर्ने गरी परिपत्र गरिएको हो ।

 

देशभरका सबै स्थानीय तह, स्थानीय पूर्वाधार विभाग पुल्चोक ललितपुर, ग्रामीण सडक सञ्जाल पूर्वाधार आयोजना, पुल्चोक ललितपुर, सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक, ललितपुर, निजामती कर्मचारी अस्पताल मीनभवन काठमाडौं र नेपाल प्रशासनिक प्रतिष्ठान जावलाखेल ललितपुरलाई परिपत्र गरिएको हो ।

 

यस्तै, जिल्ला समन्वय समितिका कार्यालय क्रमशः ताप्लेजुङ, बारा, भक्तपुर, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, सल्यान, डोल्पा, काठमाडौं, कालीकोट, सिराहा, मकवानपुर, नुवाकोट, काभ्रे, सिन्धुली, गुल्मी, सर्लाही, स्याङ्जा, सुनसरी, कास्की र अर्घाखाँचीलाई परिपत्र गरिएको छ ।

 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३८ मा बेरुजुको लगत राख्ने तथा दफा ३९ मा बेरुजु फस्र्योट गर्ने/ गराउने प्रावधान छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८८ मा बेरुजुको लगत राख्ने र सोही नियमावलीको अनुसूची–१४ मा बेरुजु फस्र्योट (लक्ष्य र प्रगति) को विवरण तथा एकीकृत प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख छ । 

 

लेखा परीक्षण ऐन, २०७५ को दफा २१ मा महालेखाले जारी गरेको प्रतिवेदनको कार्यान्वयन गर्नु सम्बन्धित जिम्मेवार पदाधिकारीको कर्तव्य हुने र दफा २२ मा संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण गर्दा देखिएका बेरुजु सम्वन्धित निकायले कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख छ । 

 

सोही ऐनको दफा २१(२) मा महालेखाले जारी गरेको प्रतिवेदनमा उल्लेख भएका विषय सुधार भए÷नभएको सुनिश्चित गर्न लेखापरीक्षण गरिएका निकायबाट भएका काम–कारबाहीको प्रतिवेदन लिने, कार्यान्वयनका लागि समय तोक्ने, पुनः जाँच गर्ने र त्यस सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनेलगायत कार्य महालेखाले गर्न सक्ने व्यवस्था छ । 

 

सोही व्यवस्थालाई आधार मानेर महालेखाले बेरुजु कार्यान्वयनको कार्ययोजना तयार र प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र बेरुजु फस्र्योटको प्रगति पेस गर्न उल्लिखित निकायलाई अनुरोध गरेको हो ।