पालिका पहल 

राजनीतिक करिअर चिम्नीको मुस्लोमा, जनतालाई धुलोधुवाँबाट मुक्ति  


  • change font
  • change font
  • change font

नमोबुद्ध नगरपालिकाको कार्यपालिकाले एउटा निर्णय गर्‍यो  । जसले गर्दा नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले थेग्नै नसक्ने दबाब झेल्नुपर्‍यो  । भकुण्डेबेसीबजार नमोबुद्धको कृषि एवं व्यापारिक केन्द्र हो । बजारसँगै जोडिएको फाँटमा ठडिएका थिए, इँटाभट्टा । तिनको चिम्नीबाट निस्कने धुवाँधुलोका कारण नगरवासीले श्वासप्रश्वासमा गम्भीर समस्या भोगिरहेका थिए । वातावरणमैत्री नहुँदा नहुँदै पनि दबाब र प्रभावको भरमा तत्कालिन गाउँ विकास समितिबाट स्वीकृति लिएर सञ्चालनमा आएका इँटा उद्योगका कारण सर्वसाधारण सकसमा थिए । 


नगरप्रमुख शर्माले यी इँटाभट्टा हटाउन अडान लिए । स्थानीय तहले पाएको अधिकार प्रयोग गरेर इँटाभट्टा व्यवस्थित गर्न खोज्दा तत्कालिन उद्योगमन्त्रीदेखि पार्टीका शाक्तिशाली नेता एवं भट्टा सञ्चालकहरूले दिएको दबाबको बेवास्ता गर्दै उनले भकुण्डेबेसीका बासिन्दालाई धुलोधुवाँबाट मुक्ति दिलाए । 


जनताद्वारा जनताकै लागि निर्वाचित जनप्रतिनिधिले चाहेमा जनतको पक्षमा जस्तोसुकै निर्णय पनि लिन सक्छन् भन्ने एउटा गतिलो उदाहरण हो नगरप्रमुख शर्माको इँटाभट्टा व्यवस्थित गर्ने पहल । वर्षौंदेखि इँटाभट्टाबाट निस्किएको धुलोधुवाँले आजित नगरवासी अहिले स्वच्छ वातावरणमा रमाइरहेका छन् । आफूले छानेका जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर निर्णय लिएपछि स्थानीय फुरुगं परेका छन् । 


स्थानीयवासीलाई धुलोधुवाँबाट मुक्ति दिलाउँदा नगरप्रमुख शर्माको राजनीतिक करिअर भने चिम्नीको मुस्लोमा परेको छ । नगरप्रमुख पछि पनि सामाजिक जीवन बाँकी हुने र जनताका बीचमा रहनुपर्ने भएकाले आफूले जनताको पक्षमा निर्णय गरेको उनी बताउँछन् । ‘पार्टी राजनीतिमा आफ्नो भविष्य के होला’ भन्ने चिन्ता नगरी जनतालाई केन्द्रमा राखेर निर्णय गरेकै कारण उनी जनताका प्रिय नगरप्रमुख बनेका छन् । 


नगरपालिकाले इँटाभट्टा हटाएको भोलिपल्ट सर्वोच्च अदालतले नहटाउन आदेश दिएको थियो । अहिले पनि जिल्ला र उच्च हदालतमा इँटाभट्टा हटाउने नगरपालिकाको निर्णयविरुद्ध मुद्दा परेको छ । तर, स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर कानुनतः गरेको निर्णयलाई अदालतले उल्टाउन नसक्ने नगरप्रमुख शर्मा बताउँछन् । 

 

नमोबुद्ध नगरपालिकामा इँटाभट्टा सञ्चालन नगरपालिका स्थापना हुनुअघि नै भइसकेका थिए । नगरपालिकाको भकुण्डे बजारनजिक वडा नं. २ र ३ मा मानव बस्तीबीच मापदण्ड विपरीत दर्ता र सञ्चालनमा रहेका आठ वटा इँटाभट्टा उद्योगको प्रदूषणका कारण स्थानीय हैरान थिए । उद्योगले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको जनगुनासो दिनहुँ बढ्दै गइरहेको थियो । 


२०७४ सालको स्थानीय चुनावमा जनप्रतिनिधिहरूले आफ्नो घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धतामध्ये ‘वातावरणमैत्री नगर निर्माण’ प्रमुख बुँदाका रूपमा रहेको नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद शर्मा बताउँछन् । ‘निर्वाचनपछि प्रतिबद्धताअनुसार इँटाभट्टा बन्द गर्न उद्योगीहरूसँग पटक–पटक वार्ता गरेका थियौँ,’ उनी भन्छन्, ‘लिखित पत्र र सूचनासमेत पठायौँ ।’ नगरपालिकाभित्र इँटाभट्टा सञ्चालनका लागि सिफारिस रोक्का गर्ने र सञ्चालनमा रहेका इँटा उद्योगको अनुगमन गरी व्यवस्थित गर्ने, मापदण्डअनुरूप बनाउन पहल गर्नेलगायत निर्णय नगरपालिकाले ग र्‍यो । 


‘इँटाभट्टाका कारण वायु प्रदूषण बढेको र त्यसले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको गुनासो नगरवासीबाट आइरहेका थिए,’ शर्मा भन्छन्, ‘श्वासप्रश्वास, आँखासम्बन्धी समस्या देखिएको, बालश्रम शोषण भएको, वनजंगलमा समेत गम्भीर असर देखिन थालेको गुनासा पनि त्यस्तै आइरहेका थिए ।’ जथाभावी गरिएको डिप बोरिङको कारण भूमिगत जलस्रोतको स्तर घट्न गई खानेपानीको चरम संकट आउने सम्भावना बढेकाले पनि इँटाभट्टा सञ्चालनमा प्रतिबन्ध लगाउन जोड दिएको उनी बताउँछन् ।


नगरपालिकामा रहेका इँटाभट्टाको वातावरण विभागबाट अनुगमन भएको थियो । स्वीकृत प्रारम्भिक वातावरण परीक्षण र नेपाल सरकार वातावरणीय मापदण्डअनुसार पूर्ण रूपमा कुनै पनि इँटा उद्योगले पालना गरेको नपाइएको वातावरण विभागको प्रतिवेदनमा उल्लेख छ ।


त्यस्तै, एभरेस्ट कन्सल्ट्यान्सी एन्ड रिसर्च सेन्टरले भकुण्डेबेसीको वायु प्रदूषणको अध्ययन गरेको थियो । त्यहाँ अत्यधिक वायु र ध्वनि प्रदूषण रहेको एभरेस्टले प्रतिवेदनमा उल्लेख छ । ‘इँटा उद्योगले अत्यधिक प्रयोग गर्ने जमिनमुनिको पानीका कारण जलस्रोतमा समस्या आउन सक्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘भौगोलिक हिसाबले भकुण्डेबेसी इँटा उद्योगको लागि उपयुक्त छैन । त्यसैले तत्काल ती उद्योग बन्द गर्नुपर्ने देखिन्छ ।’


इँटा उद्योगबाट निष्कासन हुने नाइट्रोजन अक्साइड, कार्बन डाईअक्साइड, सल्फर डाईअक्साइड, नाइट्रेड सल्फेट, कार्बनका कण, कोइलाका धुलो र खरानी आदिले प्रत्यक्ष रूपमा मान्छको आँखा, फोक्सो, घाँटी, छाला र मस्तिष्कमा असर गरिरहेको हुन्छ । एभरेस्ट कन्सल्ट्यान्सी एन्ड रिसर्च सेन्टरले गरेको अध्ययन–अनुसन्धान प्रतिवेदनमा नमोबुद्ध नगरपालिकाका अधिकांश क्षेत्रलाई वायु प्रदूषणको जोखिमयुक्त क्षेत्र भनी अंकित गरेको देख्न सकिन्छ । प्रदूषणको प्रमुख कारण इँटा उद्योग रहेको प्रतिवेदनमा उल्लेख छ । 


नगरपालिकाभित्र सञ्चालित इँटा उद्योगहरूले नगरपालिकाकालाई चार बुँदाको प्रतिबद्धतापत्र पनि पेश गरेका थिए । त्यसलाई आधार मानेर सर्वपक्षीय उपस्थितिमा जिल्ला समन्वय समितिको कार्यालयमा नगरपालिका र इँटा उद्योगबीच सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको थियो । सम्झौता पत्रअनुसार इँटा उद्योगीहरूले सञ्चालन गर्दैै आएको इँटा उद्योग ०७६  असार मसान्तभित्र हटाउने, उत्पादित इँटा पनि व्यवस्थापन गरी उद्योगको भौतिक संरचना कुनै पनि बहाना नगरी हटाई बन्द गर्ने र यदि इँटा उद्योगीले उक्त समयभित्र हटाउने प्रक्रिया सुरु नगरेको खण्डमा नगरपालिका आफँैले हटाउन सक्ने र हटाउने कार्यमा लागेको खर्च इँटा उद्योगीले बेहोर्ने उल्लेख छ ।


‘सम्झौता कार्यान्वयन गर्न नगरपालिकाले उद्योगीहरूलाई पटक–पटक ताकेता गरेको थियो,’ नगरप्रमुख भन्छन्, ‘तर, उद्योगीहरूबाट सम्झौता कार्यान्वयन नभएपछि आफैँ अघि सरेका हौँ ।’ 


२०७६ भदौ ८ र ९ मा इँटा उद्योग विस्थापित गर्ने कार्य भयो । उद्योग विस्थापनको समयमा नगरवासीको साथ र समर्थनले गर्दा व्यवसायीबाट तनावको अवस्था सिर्जना नभएको नगरपालिका प्रमुख शर्मा बताउँछन् ।


इँटा व्यवसायीको बयान


इँटा व्यवसायी कविराज श्रेष्ठ नगरपालिकाको निर्णयलाई आफूले समर्थन गरेको बताउँछन् । ‘इँटा व्यवसाय बन्द हुँदा तीन करोडको घाटा बेहोर्नुप¥यो,’ उनी भन्छन्, ‘वातावरणमैत्री नभएकोले बन्द गर्ने नगरपालिकाको निर्णयलाई हामीले समर्थन गरेका छौँ ।’ 


नगरपालिकासँग भएको सम्झौताबमोजिम आफ्नो उद्योग आफँैले भत्काएको उनी बताउँछन् । ‘इँटा उद्योग बन्द गरेर त्यस ठाउँमा कुखुरापालन, अग्र्यानिक तरकारी खेती सुरु गरेको छु,’ उनी भन्छन्, ‘विदेशबाट फर्किएका युवाहरूसँग साझेदारी गरी सुन्दर कृषि फर्म चलाइरहेको छु ।’


नगरपालिकाले तत्कालका लागि इँटा उद्योग बन्द गरे पनि ‘स्थानीयले रोजगारी पाउने गरी प्रविधि र वातावरणमैत्री इँटा उद्योग सञ्चालन गर्छु’ भन्नेलाई नगरपालिकाले स्वीकृति दिनुपर्ने श्रेष्ठ बताउँछन् । 


शर्माका अनुसार अहिले नगरपालिकाले इँटा उद्योग विस्थापित क्षेत्रमा कृषि अनुदान, डिप बोरिङ, व्यवस्थित शहरीकरण, कोरिडोर, एक वडा एक पोखरी, पार्क, चौतारी, खानेपानी, आधुनिक कृषि, पशु, फोहोरमैला व्यवस्थापन, सडक, पूर्वाधार र सुशासनका कार्यक्रम तीव्र गतिमा अगाडि बढाइरहेको छ । इँटाभट्टा बन्द गर्ने निर्णयको स्थानीयले प्रशंसा गरेका छन् । वातावरणमैत्री नगर बनाउन नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा स्थानीय खुशी छन् ।