मकवानपुर- खाद्य संकटको चपेटामा गुज्रिरहने मकवानपुरका अति सीमान्तकृत चेपाङ समुदाय पछिल्लो समय उत्पादनमा जोडिएका छन् ।
रोजगारीदेखि तरकारी र फलफूल उत्पादनले आयस्रोत बलियो बनाउँदै लगेका चेपाङ समुदायलाई सधैं एउटा पिरलोले भने सताउने गरेको छ । राक्सिराङ गाउँपालिका–४ र ५ नम्बर वडा जोड्ने परेवा भीरले चेपाङ समुदायलाई सधैं चिन्ता थपिदिने गर्छ ।
चट्टानको पहाड परेवा भीर फुटाएर सडक बनाउन नसक्दा चेपाङ मात्रै होइनन्, मकवानपुर र धादिङका गरी तीन गाउँपालिकाबासीले सास्ती भोग्दै आएका छन् ।
मनहरी बजारदेखि धादिङको मलेखु जोड्ने ५२ किलोमिटर सडकमा पर्छ, परेवा भीर । परेवा भीरको चट्टानलाई फुटाएर १२ महिना सडक सञ्चालन गर्ने स्थानीय सरकारको सपना पनि सार्थक हुन सकेको छैन ।
यो क्षेत्रलाई मनहरी–मलेखु–मुग्लिन सडक खण्डको वैकल्पिक मार्गको रुपमा हेरिएको छ । तर, वर्षाैंदेखि परेवा भीरबाट सडक निर्माण हुन नसक्दा ३ गाउँपालिकाबासी सहज सडक पहुँचबाट वञ्चित हुँदै आएका छन् ।
जिल्लाको दुर्गम राक्सिराङ–४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर–१, २, ७, ८ का बासिन्दा सोही बाटो भएर दैनिक उपभोग्य सामग्री खरिद तथा प्रशासनिक कामका लागि परेवा भीरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ ।
राक्सिराङका राम चेपाङ परेवा भीर हुँदै हिँड्न धेरै कठिनाइ हुने गरेको सुनाउँछन् । परेवा भीरबाट हिँड्दा बर्सेनि धेरैको ज्यान जाने गरेको र बाँचेकाहरू पनि मुटु दह्रो बनाएरु हिँड्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
‘परेवा भीरबाट बाटो नबन्दा मनहरी खोलाबाटै हिँड्नुको विकल्प छैन । यही खोलाले धेरै जनाको ज्यान लिइसकेको छ’, चेपाङले भने ।
स्थानीय कपिल खाँड ठकुरी परेवा भीरबाट सरकारले बाटो बनाइदिए सहज हुने बताउँछन् । ‘हामीले धेरै वर्ष भइसक्यो परेवा भीरबाट सडक बनाउन सरकारलाई गुहारेको । अहिलेसम्म बनेको छैन’, ठकुरीले भने ।
मनहरी र मलेखुबाट आएको सडक परेवा भीरमा आएर टुंगिन्छ । बोर्डबारी–परेवा भीरको चट्टानमा ६ सय ३० मिटर सडक बनाउनुपर्ने प्राविधिक अध्ययनको निष्कर्ष थियो ।
परेवा भीरबाट बाटो निर्माण गर्न साढे ६ करोडभन्दा बढी लागत अनुगमान गरिएको थियो । ३ सय १० मिटर शेरवाला उठाउने र ३ सय २० मिटर कडा चट्टान फोर्नपर्ने प्राविधिक अध्ययनबाट देखिएको थियो ।
वर्षामा खोलाको बाटो अवरुद्ध भएपछि प्राकृतिक भीरका चट्टान समाती ज्यान जोखिममा पारेर हिँड्नुको विकल्प स्थानीयलाई छैन । मनहरी खोलाले बगाएर राक्सिराङ गाउँपालिका–४ पञ्जनीका प्रेमबहादुर मोक्तानको केही समयअघि मृत्यु भयो । उनलाई परेवा भीरमुनिको खोला तर्दै गर्दा मनहरी खोलाले बगाएको थियो ।
मोक्तान एक प्रतिनिधि मात्र हुन् । राक्सिराङ गाउँपालिकाको परेवा भीरमा सडक नहुँदा भीर र खोलाबाट यात्रा गर्नुपर्दा बर्सेनि कम्तीमा ३ जनाको मृत्यु हुँदै आएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘गत वर्ष भीर पार गर्न नसक्दा २ जनाको मृत्यु भयो ।
एक दशकमा १२ जनाभन्दा बढी स्थानीयको ज्यान गइसकेको छ । मनहरी खोलामा पर्ने परेवा भीर स्थानीयका लागि पीडा दिने स्थान बनेको छ’, मल्ल भन्छन् ।
अध्यक्ष मल्लका अनुसार परेवा भीरकै कारण चेपाङ समुदायको रोजीरोटीसमेत खोसिएको छ । ‘जंगलबाट कन्दमूल खोजेर बाँच्ने चेपाङहरू उत्पादनमा जोडिएका छन् । तर, परेवा भीरबाट बाटो नबन्दा उत्पादित वस्तु बजारसम्म पु¥याउन सकेका छैनन्’, मल्लले भने ।
परेवा भीरबाट बाटो बने धादिङ र मकवानपुरको बजार जोडिन सक्ने हुँदा चेपाङहरूले तरकारी तथा फलफूल बिक्री गरेर मनग्य आम्दानी लिन सक्ने मल्ल बताउँछन् ।
धादिङको बेल्खुरोराङ गाउँपालिकाबासीलाई पनि यो सडकले जोड्छ । मनहरी–मलेखु सडक सञ्चालन हुन सके मकवानपुरको राक्सिराङ, कैलाश र धादिङको बेल्खुरोराङ गाउँपालिकाका करिब १५ हजार प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष मल्लले बताए ।
मनहरीदेखि मलेखुसम्म करिब ५८ किमि दूरीको सडकले राक्सिराङ गाउँपालिकाको चेपाङ र तामाङ बाहुल्य रहेको विकट क्षेत्रलाई सडक सन्जालमा जोडेर समग्र विकासमा टेवा दिन सक्ने मल्लाको बुझाइ छ ।
उक्त सडकमा धादिङ र मकवानपुरतर्फ बाटोको ट्रयाक खुलिसकेको छ । नुवाकोटमा गाडी नै गुडिसक्यो । यो सडकलाई रसुवा र चीनको केरुङ नाकासँग जोडिने लक्ष्य छ ।
टेन्डर खुल्दै
राक्सिराङ गाउँपालिकाले परेवा भीरबाट सडक निर्माण गर्न २६ साउनमा टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर सावर्जनिक खरिद अनुगमन कार्यालयको सिस्टमबाट डाउनलोड नहुने समस्या भएपछि १० दिनका लागि म्याद थप गरिएको छ ।
५ असोजभित्रै टेन्डर खोलिने गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए । उनका अनुसार २६ भदौमा टेन्डर खुलाउनुपर्ने थियो । ‘बिडरले हेर्न खोज्दा कार्यालयको सिस्टमबाट टेन्डर डाउनलोड नै भएन । प्राविधिक समस्याले समयमै टेन्डर खोल्न सकेनौं । त्यसैले १० दिनको म्याद थप गरिएको हो’, आचार्यले भने ।
गाउँपालिकाका अनुसार भीरको केही भागमा पहरो फोड्ने तथा केही भागमा शेरवाल उठाउने गरी टेन्डर आह्वान गरिएको हो । बोर्डबारी–परेवा भीर बाटो निर्माण गर्न झन्डै साढे ६ करोडभन्दा बढी खर्च लाग्ने प्राविधिक रिपोर्ट आएकामा गाउँपालिकाले चालू आर्थिक वर्षमा छुट्याएको २ करोड रुपैयाँबाट बहुवर्षीय ठेक्का लगाएको हो ।
सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको पहलमा संघीय सरकारले हालै २ करोड विनियोजन गरेको छ । अर्थ मन्त्रालयले परेवा भीर खण्डमा सडक निर्माण गर्न राक्सिराङ गाउँपालिकाका लागि ससर्त अनुदानको रुपमा २ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।
६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने परेवाभीर खण्ड निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट कार्यान्वयन हुने गरी बहुवर्षीय ठेक्का आह्वान गर्दै अर्काे आर्थिक वर्षसम्म निर्माण भइसक्ने अपेक्षा गरेको छ ।