close

पहिरोले पुर्‍यो वडा कार्यालय, कर्मचारीको भागदौड

पहिरोले पुर्‍यो वडा कार्यालय, कर्मचारीको भागदौड

Trulli
ADVERTISEMENT

मकवानपुर– जिल्लाको विकट गाउँपालिका राक्सिराङको ५ नम्बर वडा कार्यालय पहिरोले पुरिएको छ । ३ दिनदेखिको अबिरल वर्षाले आएको पहिरोले वडा कार्यालय पुरेको हो ।

बिहीबार दिउँसो वडा कार्यालयमाथिबाट पहिरो खस्दा कार्यालयको ३ कोठे भवनमा पूर्ण क्षति भएको वडाध्यक्ष चन्द्रसिं प्रजाले जानकारी दिएका छन् । उनका अनुसार कार्यालयको तलतिरबाट पनि पहिरो गएको छ । कार्यालय माथिबाट पहिरो खस्न थालेपछि कर्मचारीहरुको भागदौड मच्चिएको थियो ।

पहिरोले कार्यालय भवन पुरिँदा कम्प्युटर, प्रिन्टरलगायत कागजपत्र सबै पुरेको वडाध्यक्ष प्रजाले बताए । ‘एक्कासी कार्यालयमाथिबाट पहिरो झर्न थाल्यो । पहिरो जान थालेपछि कर्मचारीहरु भने भागेर बाहिर निस्कन भ्याए, सामानहरु झिक्न भ्याएनौं,’ वडाध्यक्ष प्रजाले भने ।

२ वर्षअघि मात्र गाउँपालिकाको १५ लाख रुपैयाँ लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको थियो । पहिरोले कार्यालय भवनमा पूर्ण क्षति पु¥याउँदा अब फेरि नयाँ भवन बनाउनुपर्ने भएको छ ।

गोठपनि बगायो 

यसैगरी पहिरोका कारण राक्सिराङ–९ खैराङका जितबहादुर घिमिरेको गोठ पनि बगाएको छ । गोठमा बाँधेको भैंसीसमेत पुरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

गाउँपालिकाका ठाउँठाउँमा पहिरो जाँदा भौतिक क्षतिहरु बढ्दै गइरहेको अध्यक्ष मल्लले बताए । २०७२ सालको भूकम्पले भूक्षयको उच्च खतरामा राक्सिराङ गाउँपालिका छ । तत्कालिन सरकारले राक्सिराङको धेरै वस्ती स्थानान्तरण गर्ने योजना अघि सारेको थियो । तर, हालसम्म पनि ती वस्तीहरु स्थानान्तरण हुन नसकेको अध्यक्ष मल्ले बताए ।