close

विकासमा युवालाई परिचालन गर्दै महावु गाउँपालिका

विकासमा युवालाई परिचालन गर्दै महावु गाउँपालिका

Trulli
ADVERTISEMENT

दैलेख– रोजगारीका निम्ति युवाहरू विदेशिन बाध्य भएका बेला विकासमा युवाहरूलाई परिचालन गरी गाउँमै रोजगारी दिने महावु गाउँपालिकाले योजना बनाएको छ । 

कृषि, पशुपालनसँगै गाउँ र वडामा हुने सबै विकासका कार्यमा अनिवार्य रूपमा युवाहरूलाई परिचालन गर्ने रणनीति तयार गरेर काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । सीप, क्षमता र योग्यताका आधारमा पालिकामा आएका युवाहरूलाई गाउँपालिकाले रोजगारी दिँदै आएको उनको भनाइ छ । 

 

उनले अध्यक्ष रोजगार कार्यक्रमसँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमलाई समेत प्रभावकारी रूपमा कार्यान्वयन गरेर युवालाई गाउँमै रोक्ने तयारी थालिएको बताए । 

 

कोरोना खर्च २ करोड ७६ लाख

 

कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित जिल्ला हो दैलेख । कोरोना कहरमा सबैभन्दा धेरै युवाहरू दैलेखको महावु गाउँपालिकामा आएका छन् । पालिकाभर आएका दुई हजार ७०० युवाहरूलाई गाउँमै रोजगारी दिनेबारेमा कार्यपालिकामा छलफल भएर काम सुरु गरिएको बताइएको छ । 

 

महावु गाउँपालिकाले कोरोना भाइरस (कोभिड– १९)को रोकथाम तथा नियन्त्रणका लागि पालिकामा दुई करोड ७६ लाख रुपैयाँ रकम खर्च गरेको जानकारी दिएको छ । स्वास्थ्य शाखा प्रमुख रमेश दसौदीले विदेशबाट आएका युवाहरूलाई ल्याउनका लागि मात्र यातायात, क्वारेन्टाइन व्यवस्थापन, खाना खर्च, सामग्री खरिद, औषधि खरिदलगायत विभिन्न शीर्षकहरूमा उक्त रकम खर्च भएको जानकारी दिए । 

 

आएकामध्ये एक हजार ३९५ जनाको पीसीआर जाँच गरिएको र एक हजार ३७५ जनाको आरडीटी जाँच गरिएको छ । पालिकाभर कोरोना संक्रमितको संख्या १८९ जना रहेको भए पनि अहिले पालिकामा कुनै पनि संक्रमित बिरामीहरू नदेखिएको र विस्तारै पालिका कोरोनामुक्त हुने तयारीमा रहेको जानकारी उनले दिए । 

 

विभिन्न शीर्षकहरूमा भएको खर्च रकममध्ये पूरै भुक्तानी दिन नसकिएको र केही रकम उधारो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए । यस आर्थिक वर्षमा पनि कोरोनाको खर्चको हिसाब आउन बाँकी       रहेको र पहिलो चौमासिक अवधिमा खर्चको जानकारी गराउने मल्लको भनाइ छ । 

 

जनताको जीवन सुरक्षा गर्नु पालिकाको पहिलो कर्तव्य भएको र पालिकाका सबै निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना वडावडामा जनतालाई कोरोना संक्रमणबाट जोगाउनका लागि वडाका विद्यालय, खुला चौरलगायतका विभिन्न स्थानहरूमा क्वारेन्टाइन निर्माण गरेर जसोतसो विदेशबाट आएका मानिसहरूलाई सुरक्षित राख्ने प्रयास गरेको पालिकाले जनाएको छ ।

 

पालिकाले उपचार सेवा प्रभावकारी बनाउन पालिकामै २५ लाख रुपैयाँको अत्याधुनिक आइसोलेसन अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित मात्र नभएर अन्य बिरामीहरूका लागि पनि अस्पताल प्रयोगमा आएको अध्यक्ष जंगबहादुर शाहीले बताए । 

 

सार्वजनिक सुनुवाइ गराउने पहिलो गाउँपालिका महावु

 

स्थानीय तहमा सार्वजनिक सुनुवाइ गर्न आनाकानी गर्ने र बिल, भौचर मिलाएर खाने बानी परेका बेला महावु गाउँपालिकाले सार्वजनिक सुनवाइ गरेको छ । 

 

दैलेखमै पहिलो सार्वजनिक सुनुवाइ गर्ने महावु गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न गरेका विकास गतिविधिहरू र कोरोना कहरमा पालिकाले गरेको खर्चलगायत सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाइ गरिसकेको छ । 

 

गाउँपालिकाले विकास निर्माणलगायत विभिन्न शीर्षकमा भएको खर्चको पूर्ण विवरण आमनागरिकलाई जानकारी गराउने र खर्च सार्वजनिक गर्ने प्रतिबद्धता गरिएको छ । 

 

पालिकामा संचालन भएका योजनाहरूलाई थप प्रभावकारी बनाउन र दिगोपन कायम गर्ने, हरेक नागरिकलाई विकासको जानकारी गराउँदै हरेक चौमासिक अवधिमा अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ सम्पन्न गर्ने, गाउँमा आएका युवाहरूलाई रोजगारी प्रदान गर्न पालिकाले कार्यविधि निर्माण गरेर विकास निर्माण, कृषि र पशुपालनका क्षेत्रमा लगाउने, कृषि उत्पादन बढाउनका लागि सिँचाइ कुलो निर्माणलगायतका कामहरू अगाडि बढाउने साझा प्रतिबद्धता गरिएको छ ।