close

रुकुमपूर्वका तातोपानी मुहानमा पौडिनेको लर्को

रुकुमपूर्वका तातोपानी मुहानमा पौडिनेको लर्को

Trulli
ADVERTISEMENT

रुकुमपूर्व -  जिल्लामा ५ ठाउँमा रहेका तातोपानीको मुहानमा पौडिनेको भीड बढ्न थालेको छ  । तर, एकाधबाहेक सबै तातोपानीका मुहान संरक्षणविहीन छन् ।  


सानीभेरीको तीरमै ५ ठाउँमा तातोपानीको मुहान रहेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको सानीभेरीकै तीरमा ४ ठाउँ र सिस्नेमा पनि सोही तीरसहित जिल्लामा ५ स्थानमा रहेका तातोपानीका मुहानमा नुहाउन आउनेको संख्या भने दैनिक बढिरहेको  छ । 


पुथा–२ को जार्लुङ, २ नम्बर वडाकै रल, पुथा–६ डिमुरगैरा, पुथा–१२ ओख्मामा तातोपानीको मुहान रहेको छ भने सिस्ने गाउँपालिका–४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि यस्तो मुहान छ । 
तातोपानीमा नुहाउन र लुगा धुन कात्तिकदेखि फागुनसम्म मान्छेको भीड लाग्ने गरेको पुथा–६ का वडाध्यक्ष तोपे सेनले बताए ।


हालसम्म सिस्ने–४ को धाउने स्थित सानीभेरीको छेउमा रहेको तातोपानी र पुथाको डिमुरगैरा अनि जार्लुङमा मात्र संरक्षणको काम भएको सेनले जानकारी दिए । पुथा–१२ को ओख्मा र पुथा–२ को रलमा रहेका तातोपानीको मुहान संरक्षणविहीन छ । 


‘पुथाको डिमुरगैरामा रहेको तातोपानीको मुहान संरक्षणका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारको ४० लाखमा नुहाउन र लुगा धुन ४ वटा धारा, पौडिन १ पोखरी र डिमुर गाउँदेखि डिमुरगैरा तातोपानीसम्म जान डेढ किलोमिटरको गोरेटो बाटो स्तरोन्नति गरेका छौं’, वडाध्यक्ष सेनले भने ।  


यसैगरी पुथा–२ को जार्लुङ र सिस्ने ४ को धाउने छेउमा रहेको तातोपानीको मुहान केही संरक्षण गरिएको छ  । सिस्ने– ४ को धाउने नजिक सानीभेरीको तीरमा रहेको तातोपानी संरक्षणका लागि यस आर्थिक वर्षमा संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।


चालू आर्थिक वर्षमा प्रदेश सरकारले तातोपानी मुहान संरक्षणका लागि स्थान नतोकी एकमुष्ट २५ लाख बजेट छुट्याएको छ । 


पुथाको ओख्मा र रलको तातोपानी संरक्षणमा चासो नदिइएको स्थानीय बताउँछन् । तातोपानीका मुहानमा नुहाउन हिउँदमा रोल्पा, बाग्लुङ, प्यूठान, सल्यान, रुकुम पश्चिमलगायत जिल्लाबाट आउने मान्छेको भीड लाग्ने गर्छ ।