close

रक्सी खाने जनप्रतिनिधिलाई २० हजार जरिमाना !

रक्सी खाने जनप्रतिनिधिलाई २० हजार जरिमाना !

Trulli
ADVERTISEMENT

काभ्रे - काभ्रेको चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले कुनै पनि जनप्रतिनिधिले मदिरा सेवन गरी सार्वजनिक स्थलमा अवान्छित कार्य गरे अरुलाई भन्दा दोब्बर जरिमाना लिइने उद्घोष गरेका छन् ।


मदिरा प्रतिबन्ध गर्ने गाउँपालिकाको निर्णयको विषयमा चौंरीदेउराली वडा– ६ स्थित कात्तिके देउरालीमा स्थानीय, व्यवसायी, आमा समूह, बुद्धिजीवी तथा सरोकारवालासँगको छलफलमा अध्यक्ष गौतमले यस्तो घोषणा गरेका हुन् ।


गाउँपालिकाले ‘मदिरा प्रतिबन्ध कार्यविधि–२०७७’ कार्यान्वयनका लागि प्रचारप्रसार तथा सरोकारवालासँग धारणा बुझ्न कात्तिके देउरालीमा छलफल चलाएको थियो । 


कार्यक्रममा अध्यक्ष गौतमले व्यावसायिक उद्देश्यले मदिरा ओसारपसार र उत्पादन तथा बिक्री गर्न गाउँपालिकाले पूर्ण रुपमा रोक लगाएको बताउँदै विभिन्न जाति, आदिवासी जनजातिको रीतिरिवाज, संस्कार र संस्कृतिलाई असर नपुग्ने गरी कार्यविधि ल्याइएको जानकारी दिए ।


‘गाउँपलिकाको मदिरा प्रतिबन्ध कार्यविधिलाई पूर्ण रुपमा लागू गर्नेछौं । कुनै पनि मदिरा ओसारपसार, उत्पादन र बिक्री वितरणमा रोक लगाएका छौं’, अध्यक्ष गौतमले भने, ‘तर आदिवासी जनजाति, विभिन्न जातिको संस्कार, संस्कृति र रीतिरिवाजलाई असर नपर्ने गरी मदिरा प्रतिबन्ध गर्न खोजेका हौं ।’


समाजमा सुसंस्कृतिको विकास, सुशासन, शान्ति–सुरक्षा, घरेलु हिंसाको अन्त्यका लागि यो कार्यविधि ल्याउन बाध्य भएको अध्यक्ष गौतमको भनाइ छ । ‘हामी समाजलाई सभ्य बनाउन चाहन्छौं । त्यसका लागि गाउँपालिकाबाटै यो कार्यक्रम गर्दै छौं । घरेलु हिंसाको अन्त्य गर्नका लागि पनि मदिरा प्रतिबन्ध आवश्यक छ,’ उनले भने ।

 

मदिरा सेवनकै कारण कैयौंले आत्महत्या गरेको, घरमा झैझगडा बढाएको र गाउँपालिकाभित्रका आमा, दिदीबहिनीहरूले मदिरा प्रतिबन्धका माग गरेकाले यस्तो निर्णय गरिएको उनले दाबी गरे ।


‘स्थानीय सरकार नागरिकको चाहनाअनुसार चल्ने हुँदा कसैले मदिरा प्रतिबन्धलाई आलोचना गरे पनि निर्णय कार्यान्वयन गराएरै छाड्छौं’, गौतमले भने । 

 

गाउँपालिकामा मदिरा प्रतिबन्ध

 

चौंरीदेउराली गाउँपालिकाले २० असोजदेखि  मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ । मदिरा प्रतिबन्ध मूल समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दिननाथ गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 


मदिरा प्रतिबन्ध गरिएको घोषणाका लागि एक सातासम्म जनचेतनामूलक तथा जानकारीसहितको प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए । 


२०७७/ 0७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो । सोही क्रममा कार्यपालिका ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि– २०७७’ लाई गत ५ भदौमा स्वीकृत गरेको थियो । 


कार्यविधिविपरीत गाउँपालिकाभित्र मदिरा बिक्री वितरण र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारबाही गरिनेछ ।  गाउँपालिका अध्यक्ष गौतमका अनुसार मदिरा बेचबिखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापा मार्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर हिसाब गरी जरिमाना गर्नेछ । 


उनका अनुसार पहिलो पटक ५ हजार, दोस्रो पटक १० हजार, तेस्रो पटक २० हजार जरिमाना गरिनेछ । सोभन्दा बढी पटक गरेको पाइए तेस्रो पटकको जरिवानाभन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ । 


‘लगातार प्रतिबन्धको अवहेलना गरे सावर्जनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन गाउँपालिकाले नै सिफारिस गर्नेछ’, अध्यक्ष गौतमले भने । 
यस्तै, मदिरा सेवन गरी होहल्ला गरेको फेला परे १० हजार रुपैयाँसम्म जरिमाना गरिनेछ । कार्यविधिमा उल्लेख भएअनुसार पहिलो पटकलाई १५ सय, दोस्रो पटकलाई ३ हजार, तेस्रो पटकलाई ४ हजार ५ सय र सोभन्दा बढी पटक भए १० हजार रुपैयाँसम्म जरिमाना गरिनेछ ।