close

भिमाद नगरपालिका बन्द

भिमाद नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको भिमाद नगरपालिकाले नगरभित्र समुदाय स्तरमै कोरोना संक्रमण पुष्टि भएपछि सबै सेवा बन्द गरेको छ । नगरपालिका कार्यालय र वडाबाट प्रवाह हुने कोरोनासम्बन्धी स्वास्थ्य सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए  ।


‘समुदायमा संक्रमण फैलिने जोखिम बढेपछि अर्को सूचना जारी नहुदाँसम्म नगरपालिकाभर सबै क्षेत्र र सेवा बन्द गर्ने निर्णय गरेका छौँ’, उनले भने । 


मंगलबार भिमाद बजार क्षेत्रमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १०९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि क्षयरोग उपचार केन्द्र पोखरा प्रयोगशाला पठाइएकामा भिमाद नगरपालिका- ६ भिमाद बजारका १८, २०, ३७ र ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।


संक्रमितहरू किराना पसल, ग्यारेज, फेन्सी पसल र सैलुन सञ्चालक तथा कर्मचारी हुन् । बढी भीडभाड हुने क्षेत्रमा संक्रमण देखिएको र  गाउँगाउँसम्म फैलिएको अनुमान गर्दै नगर क्षेत्र बन्द गरिएको थापाले बताए । संक्रमितको सम्पर्कमा आएका सबैको पहिचान गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 


शनिबार भिमाद- २ की पाँच वर्षीया बालिका र भिमाद- ६ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्र बन्द गरी कन्ट्याक ट्रेसिङ गरिएको थियो ।


आइतबार स्वाब दिएका १०९ मध्ये चार जनाको रिपोर्ट पोजिटिभ आएको छ । सोमबार स्वाब दिएका ६२ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।