स्याङ्जा- वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा १७ करोड रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपांगता भएका व्यक्तिका लागि बैंकमार्फत १७ करोड २१ लाख ४४ हजार ४०० रुपैयाँ वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन कायम रहेको संख्याभन्दा कमले मात्र भत्ता बुझ्ने गरेको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिए । नगरपालिकामा ज्येष्ठ नागरिकतर्फ १० हजार ६६० रुपैयाँमध्ये १० हजार ४९४ ले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझेको अधिकृत अर्यालले बताए ।
उनका अनुसार असहाय एकल महिला तथा विधवातर्फ पाँच हजार ७८८ मध्ये पाँच हजार ३९३, अतिअशक्त अपांगता ‘ख’ वर्गका ७१७ मध्ये ६६७, दलित बालबालिकातर्फ दुई हजार २५४ रहेकामा दुई हजार १२८ र पूर्ण अपांगता ‘क’ वर्गतर्फ ३५६ मध्ये ३४१ जनालाई भत्ता वितरण गरिएको हो ।
नगरपालिकाले वडागत रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण गर्दै आएको ज्ञवालीले बताए ।
‘नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ’, ज्ञवालीले भने, ‘गत आवको पहिलो चौमासिकमा पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा पाँच करोड ७२ लाख दुई हजार र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ७७ लाख ५८ हजार रुपैयाँ वितरण भएको हो ।’
पहिलो चौमासिकमा छ हजार ३५९, दोस्रोमा छ हजार ३७० र तेस्रोमा छ हजार ४५४ जनालाई भत्ता वितरण गरिएको हो । गत आर्थिक वर्षमा कुल १९ हजार १८३ जनाले विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् ।
नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणतर्फ सबैभन्दा धेरै ज्येष्ठ नागरिकको रहेको छ । ज्येष्ठ नागरिकलाई ११ करोड ६३ लाख ६७ हजार २००, असहाय एकल महिला, विधवालाई चार करोड ३० लाख ८७ हजार ४००, अतिअशक्त अपांगता भएको ‘ख’ वर्गकालाई ५२ लाख १९ हजार ८०० रुपैयाँ वितरण गरिएको छ ।
यस्तै, दलित बालबालिकालाई ३३ लाख ७८ हजार र पूर्ण अपांगता भएका ‘क’ वर्गकालाई ४० लाख ९२ हजार रुपैयाँ वितरण गरिएको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले जानकारी दिए ।