close

संघीय सांसदलाई गाउँपालिका प्रवेश निषेध !

संघीय सांसदलाई गाउँपालिका प्रवेश निषेध !

Trulli
ADVERTISEMENT

रौतहट - रौतहट- १ का संघीय सांसद अनिलकुमार झाले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियाले गाउँ आउन चेतावनी दिएका छन् । यमुनामाईको सरुअठामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मुखियाले सांसद भएर अन्टसन्ट बोल्ने झासँग मुखमा मुख मिलाउन तयार भएको चेतावनी दिए ।

 

दसैंको शुभकामना मन्तव्य दिने क्रममा पूर्वमन्त्री एवं जसपाका केन्द्रीय नेता सांसद झाले स्थानीय तहको रकम मेयरका बाउको नभएको, विदेश कमाउन गएका व्यक्तिका श्रीमतीले अरुसँग लसपस गर्नेलगायतका अमर्यादित, अभिव्यक्ति दिएका थिए ।


‘मुलुकमा अहिले तीन तहका सरकार छन् । सबैले आ-आफ्ना कार्यक्षेत्रअनुसार काम गरिरहेका छन् । सबै जनताकै लागि विकासमा जुटे पनि राज्यबाट आउने रकम सांसदको घरबाट पुर्ख्याैली सम्पत्ति आएजस्तै सांसद झाले अभिव्यक्ति दिए ।

 

यमुनामाई वडा-४ मा शुभकामना आदानप्रदान कार्यक्रममा दिएको उनको अभिव्यक्ति गैरजिम्मेवार, संकुचित मानसिकताबाट ग्रसित छ । अतः यमुनामाई प्रवेश नदिने निर्णय गरिएको हो’, गाउँपालिका अध्यक्ष मुखियाले भने ।

 

दलित जातिबाट गाउँपालिकाको प्रमुख पदमा आएको देखिनसकेका कारण झाले उक्त अभिव्यक्ति दिएको दाबी मुखियाले गरे । सांसद झाले माफी नमागेसम्म उनलाई पालिकाभित्र प्रवेश गर्न नदिइने उनले बताए । सांसद भएर महिला र स्थानीय तहका प्रमुखमाथि दिएको अभिव्यक्ति शोभनीय र सान्दर्भिक नभएको उनको भनाइ छ ।


‘नेपाल सरकारको नीति निर्देशनअनुरुप वित्तीय समानीकरण, समपूरक, विशेष बजेट सांसदले पठाउने होइन । राज्यले दिने हो । संसदीय कोषको रकम दुरुपयोग गरी जयनगरमा मेडिकल कलेजको नाममा माछा पोखरी सञ्चालन गर्ने सांसद झाले गरेको खर्चको हिसाबकिताब खोज्छौं’, अध्यक्ष मुखियाले भने ।


सांसद झाको अभिव्यक्तिप्रति स्थानीय महिला संघ–संगठन, नेकपा सांसद रेखा झा, कांग्र्रेस जिल्ला सभापति कृष्ण यादवलगायतले आपत्ति जनाएका छन् ।