close

माछाका भुराले भरियाे कालीगण्डकीको बाँध

माछाका भुराले भरियाे कालीगण्डकीको बाँध

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित कालीगण्डकी ए जलविद्युत् केन्द्रको रिजर्भायर (बाँध) क्षेत्रमा विभिन्न प्रजातिका ३ लाख ८२ हजार ५ सय माछाका भुरा छाडिएका छन् । कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा मगरले माछाका भुरालाई आयोजनाको बाँधमा छाडेका हुन् । विद्युत् आयोजनाको बाँधमा गर्दी, हाडे र ठेड प्रजातिका माछा छाडिएको हो । 

 

जलविद्युत् केन्द्र बाँधस्थलको माथिल्लो भागमा माछाको संख्यामा कमी आएपछि प्राकृतिक सन्तुलन कायम गर्न भुरा छाडिएका कालीगण्डकी ए जलविद्युत केन्द्रका सहायक निर्देशक एवं लेखा प्रमुख फर्शुराम पाण्डेले जानकारी दिए ।


‘माछा मारेर जीविकोपार्जन गर्दै आएका स्थानीय माझी समुदायलाई लक्षित गरी उक्त कार्यक्रम चलाएका हौं । यसबाट प्राकृतिक सन्तुलन र जीविकोपार्जन दुवैमा सन्तुलन आउने अपेक्षा छ’, पाण्डेले भने । उनका अनुसार जलविद्युत केन्द्रले बाँधस्थलमा पहिलो पटक माछाका भुरा छाडेको हो ।


बाँधस्थलमा ठूलो परिमाणका माछा भुरा छाडिएसँगै रोटीरोजी पक्का भएको भन्दै स्थानीय माझी समुदायमा खुसी छाएको छ । माछाका भुरा छाड्ने क्रममा स्थानीय माझी समुदायका सदस्यसमेत सहभागी थिए ।


माछाका भुरा बाँधस्थलमा छाडिएपछि  घट्दै गएको संख्या पुनः बढ्ने अपेक्षा विद्युत् आयोजनाको छ । कार्यक्रममा जलविद्युत् केन्द्रका प्रमुख एवं निर्देशक पशुपतिराज गौतम, पालिकाका विभिन्न वडाका वडाध्यक्ष, स्थानीय समुदायको बाक्लो सहभागिता थियो ।