close

मुगुका किशाेरीकाे प्रश्नः कपडा छोटो कि नजर खोटो ?

बलात्कारविरुद्ध किशोरकिशोरीको नाचगान र मार्चपास 

मुगुका किशाेरीकाे प्रश्नः कपडा छोटो कि नजर खोटो ?

बलात्कारविरुद्ध किशोरकिशोरीको नाचगान र मार्चपास 

Trulli
ADVERTISEMENT

मुगु - कर्णालीको हिमाली जिल्ला मुगुमा बलात्कार र महिला हिंसाविरुद्ध स्वतःस्फूर्त युवायुवती भेला भएर सडकमै नाचगान र मार्चपास गरेका छन् ।  

 

छायानाथ रारा नगरपालिका-१ स्थित महाकाली माध्यमिक विद्यालय हाताबाट सुरु भई सदरमुकाम गमगढी बजारको कालिका मालिका मन्दिर र अदालत चोकमा करिब २० युवायुवतीले बलात्काविरुद्धको अभियानलाई साथ दिन नाचगान र मार्चपास गरेका हुन् ।

 

प्रदर्शनमा ५० भन्दा बढीको उपस्थिति थियो । उनीहरूले कालो टिसर्ट, कालै पाइन्ट र टाउकोमा कालो पट्टी बाँधेर बलात्कार र महिला हिंसाविरुद्ध सांकेतिक प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी किशोरकिशोरीले महिला हिंसा र बलात्कारविरुद्ध नबोल्ने हरेक व्यक्ति, समाज बलात्कारीसरह हुने सांकेतिक शब्द ‘तँ होस् बलात्कारी’ भन्दै नाराबाजी गरेका थिए ।


बलात्कारीलाई फाँसी दिन नमिले पनि कडा कानुन ल्याउनुपर्ने प्रदर्शनमा सहभागी युवती सोनी शाही ठकुरीले बताइन् । 

 

‘युवायुवतीको मार्चपाससहितको र्‍यालीमा ‘मलाई बाँच्न मन छ । मलाई बचाऊ । कस्तो कानुन कस्तो सरकार । कपडा छोटो कि नजर खोटो, महिलाको सुरक्षा खोइ सरकारजस्ता नारा लगाउँदै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हौं’, उनले भनिन् । 

 

कार्यक्रमको अगुवाइ गरेकी शाहीले महिला हिंसाविरुद्धको प्रत्येक घरको आवाज बुलन्द गर्न सडकमा आएको बताइन् । अहिले पनि धेरै महिला हिंसाका घटना बाहिर आउन नस्कने अवस्था रहेकाले महिला आफैं जागरुक भएर अभियान चलाउनुपर्ने सुझाव उनको छ । 

 

एक घन्टे प्रदर्शनमा किशोरकिशोरीहरूले ‘अर्को पालो मेरो पो हो कि, यो अत्याचार अब म सहन्नँ, अब म बोल्छु, अब मौन रहन्नँ, हत्या-हिंसा, बलात्कार समाजबाटै बहिष्कार, हरेक नेपाली नारीले लक्ष्मी हैन, काली बनेर आफ्नाे रक्षा गर्ने बेला आयो’ लगायतका प्लेकार्ड बोकेका थिए ।