close

भएको घरजग्गा रोगको उपचारमा सकियाे: न रोग निको भयो, न त ओत लाग्ने छानो नै रह्यो

भएको घरजग्गा रोगको उपचारमा सकियाे: न रोग निको भयो, न त ओत लाग्ने छानो नै रह्यो

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुराको बुढीनन्दा नगरपालिका वडा नंं- १ का धनबहादुर रावतको परिवार बिचल्लीमा परेको छ । बास बस्नका लागि आफ्नै घर नहुँदा रावतको परिवार अहिले बिचल्लीमा परेको हो । 


वडा नं.- १ रावतवाडाका स्थानीय धनबहादुरकोे बास बस्न र खाना पकाउनसमेत आफ्नै घर नहुँदा छिमेकीको घरमा दैनिकी गुजारिरहेका छन् । लामो समयदेखि पक्षघात रोगबाट ग्रस्त बनेका रावतलाई घामपानी छेक्नका लागि त के, ओत लाग्ने ठाउँसमेत छैन । छिमेकीको घरको भुइँ तल्लामा उनको बसोवास भइरहेको छ । 


‘भुइँ तल्लाको बसाइमा कहिले चिसो ओतले सताउँछ, गतिलो कपडासमेत नहुँदा रातको समयमा चिसो हुन्छ’, रावतको गुनासो छ । रावतको आफ्नै घरमा बस्ने सपना भने अधुरै छ ।


आफूसँग भएको घरजग्गा रोगको उपचारमा खर्चिए उनले तर न त रोग निको भयो, न ओत लाग्ने छानो नै रह्यो ।


उनका जेठा छोरा खम्म रावत पनि शारीरिक अशक्त छन् । धनबहादुरकी श्रीमतीको निकै अघि मृत्यु भइसकेको छ । कान्छो छोराले काम गर्न नसक्ने, जेठो छोरा पनि अशक्त भएकाले उनको परिवारको बिचल्ली भएको वडा अध्यक्ष खत्रीले बताए ।


उनको घरमा काम गर्ने कोही पनि छैन । जेठो छोरो अशक्त, आफू पनि रोगी भएकाले काम गर्न र दुई पैसा कमाइ गर्नसमेत नसकेका कारण घर चलाउन पनि समस्या भएको उनले बताए । नगरपालिकाबाट केही राहतको अपेक्षा गरे पनि सहयोग नभएको उनको गुनासो छ । सके उपचार, नसके बस्ने बास र खाने गासको व्यवस्थापन गरिदिन आग्रह गरे पनि नगरपालिकाले बेवास्ता गरेको रावतको भनाइ छ ।


घर नजिक रहेको जमिन बेचेर छोराको उपाचारमा खर्च गरे पनि छोराको उपचार हुन सकेन । वडा नं.- १ का वडा अध्यक्ष नृपराज खत्रीका अनुसार केही समय अगाडि वडाबाट हुने सहयोग गरिए पनि वडाबाट दिएको सहयोगले धनबहादुरको उपचार सम्भव भएन, न त उनका जेठा छोरा खम्मको उपचार नै भयो ।


उनीहरूको अवस्था निकै कमजोर रहेको वडा अध्यक्ष खत्रीले बताए । लकडाउनको समयमा केही राहत दिएको भए पनि उनको ओत लाग्ने घरसमेत नरहेको वडा अध्यक्ष खत्रीको भनाइ छ । धनबहादुरले पहिले भारतमा गएर कमाएर परिवार पाल्ने गरेको भए पनि हाल लामो समयदेखि थला परेपछि उनका दुई छोराको समेत बिचल्ली हुन पुगेको छ ।