close

पहिरोले घर बग्याे, त्रिपालकाे बास सरकारले खाेस्याे

पहिरोले घर बग्याे, त्रिपालकाे बास सरकारले खाेस्याे

Trulli
ADVERTISEMENT

अर्घाखाँची - जिल्लाको शीतगंगा नगरपालिकाका पहिरोेपीडितहरूमाथि धरपकड भएको छ । पहिरोले घर बगाएकाहरू वन क्षेत्रमा त्रिपाल टाँगेर बसेकामा कपिलवस्तु जिल्लामा रहेको डिभिजन वन कार्यालयले त्रिपाल फालिदिएपछि पहिरोपीडितहरू बिचलित भएका छन् । 


पहिरोपीडितहरू वडा कार्यालयसँग समन्वय गरेर उक्त  स्थानमा बसोवास गरेको वडा अध्यक्ष बाबुराम गैरेले बताए । उक्त जग्गामा ३७ घर परिवार बसेकामा कपिलवस्तुको वन कार्यालयले धरपकड गरेको उनले बताए । ‘ त्रिपालहरूसमेत फालिदिएछन्’, कपिलवस्तुका जनप्रतिनिधिसहित आएर स्थानीयहरूलाई कुटपिटसमेत गरेको बताउँदै गैरेले भने, ‘हामीसँग समन्वय गरेको भए समस्याको समाधान गर्ने थियौँ । उक्त जग्गा अर्घाखाँचीमा भएको भए पनि कपिलवस्तुले आफ्नो भन्दै दाबी गरिरहेको छ ।’ 


खुला चौर भएको स्थानमा बस्दासमेत आफूहरूमाथि धरपकड गरेकामा दुःख लागेको पहिरोपीडित बिष्णा मगरले बताइन् । ‘एक्कासि पाँचवटा गाडीहरूमा मानिसहरू आई किन बसेको भनेर युवाहरूलाई हातमा रस्सीले बाँधेर हाम्रा त्रिपालहरू त्रिपालहरू सबै लगे । हामीले तयार पारेका खानाहरू पनि  फालिदिए । हामी कहाँ जाने, सरकारले पीडितका कुरा सुनोस् ।’


अहिले डिभिजन वन कार्यालय कपिलवस्तुले त्रिपाल र त्रिपाल लगेपछि खुला आकाशमा बस्न बाध्य भएका छन् उनीहरू । वन क्षेत्र कब्जा गरेर बसोवास गरेको पाइएपछि २४ घण्टे अल्टिमेटम दिएर हटाइएको डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदनमोहन शाण्डिल्यले बताए । 


‘पहिरोपीडित भन्दै वन क्षेत्र कब्जा गरेर बसेकाले हामीले त्रिपालहरू उठाएर ल्याएका हौँ । हामीले कानुन हेर्ने हो, उहाँहरू पहिरोपीडित भए पनि वन क्षेत्र कब्जा गरेर बस्न पाइँदैन ।’

 

पहिरोपीडितहरूलाई शीतंगगा नगरपालिकाको रजियामा व्यवस्थापन गरिएको जिल्ला विपद् व्यवस्थापन  समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । ‘हामीले पहिरोपीडितहरूको व्यवस्थापन गर्नका लागि तिनै तहका सरकारहरू लागिपरेका छौँ ।

 

असारसम्म घर बनाएर हस्तान्तरण गर्ने गरी काम बढाएका छौँ’, उनले भने, ‘हामीले रजियामा अस्थायी बसोवास गर्ने व्यवस्था गरेका थियौँ । अहिले पहिरोपीडितहरूलाई हटाएको भन्ने स्थान हामीले व्यवस्थापन गरेको भन्दा फरक हो ।’