close

मातृभूमिबाट भारतलाई राजस्व बुझाउनेहरू

स्कूल त छैन कहाँबाट पाउनु सडक, पानी र फोन ?

मातृभूमिबाट भारतलाई राजस्व बुझाउनेहरू

स्कूल त छैन कहाँबाट पाउनु सडक, पानी र फोन ?

Trulli
ADVERTISEMENT

दाङ–  दाङको गढवा र राजपुर गाउँपालिकाको झण्डै आधा भूभाग भारतीय सीमा नाकामा पर्छ । नेपाली भूमि भएपनि नेपाली नागरिकले पाइरहेको सेवा सुविधा त्यस क्षेत्रका नागरिकहरुले अहिले सम्म पाएका छैनन् ।


सञ्चार देखि, आहारा सम्म भारतकै भर पर्नुपरेको छ । पालिकाहरुले पनि यसका लागि खासै पहल गरेको देखिदैन ।


नेपाल–भारत सीमा क्षेत्रका नेपाली बस्तीहरुमा सबै खालका समस्या छन् । सीमा क्षेत्रमा कतिपय नाका र बस्तीमा टेलिफोन सेवा समेत छैन । नागरिकहरुले अहिलेसम्म आफनो देशले सञ्चालन गरेको नेपाल टेलिकमको सेवा पाउन सकेका छैनन् । सञ्चारका लागि भारतीय सिम प्रयोग हुने गरेको छ ।


राजपुर गाउँपालिकाका सुनपत्री, ऐरना, गोठुवा गाउँ दाङको नाका क्षेत्रमा पर्ने बस्तीहरु हुन् । भारतीय सिमा क्षेत्रसँग जोडिएका यी बस्ती हालसम्म सञ्चारको सुविधाबाट बञ्चित छन् । सीमा सुरक्षा र बस्ती बिकासबाट निकै पछि परेका नाका क्षेत्रका बस्तीहरु सञ्चारको पहुँचबाट पनि टाढा छन् । जिल्लाको राजपुर गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का केही भू–भागमा सञ्चार सुविधा पुगेको छैन ।

 

नाका क्षेत्र पूर्णरुपमा सञ्चारबिहीन छ । फोन गर्न वर्षौँ वर्षदेखि भारतीय सिमकार्ड प्रयोग गरिरहेको स्थानीय जोगमान बुढाले बताए । ‘सरकार हामी नाकाबासीले नेपालको सिमकार्ड प्रयोग गरेर कहिले कुराकानी गर्न पाउँछौ ?’ उनको प्रश्न छ ।

 

नेपाल भारत सीमा जोडिएका क्षेत्रमा नेपाल टेलिकमको सेवा उपलव्ध नहुँदा महँगो शुल्क तिरेर भारतीय सिमकार्ड प्रयोग गर्दै आएको नाकावासी इन्द्रबहादुर पुनले बताए । सरकारले नाकाक्षेत्रमा सञ्चार सेवा विस्तार नगर्दा नाकावासीहरु भारतीय सरकारलाई सिम प्रयोग गरेवापतको राजस्व तिर्दै आएको उनी बताउँछन् ।


उनको प्रश्न छ, ‘मातृभूमिमा बसेर पनि भारतलाई राजस्व बुझाउन बाध्य छौँ, उनले भने, ‘नेपालमा इन्डियन सिम प्रयोग गर्दा ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता कहिले हटेर जाला ?’

 

ताली, करुवा, गल्छु, सिक्टा लगायतका क्षेत्रपनि सञ्चारको सुविधबाट बञ्चित रहेको स्थानीय रनबहादुर बुढा बताउँछन् । समयमै संचारको सुविधा उपलव्ध नहुँदा नाका सबै क्षेत्रको विकासबाट पछि परेको उनले बताए । नाका क्षेत्रका बस्तीहरु शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, यातायात लगायतका सम्पूर्ण सेवाबाट बञ्चित रहेको उनी बताउँछन् ।


दुरसञ्चार कार्यालय तुलसीपुरका प्रमुख हरि खनाल बन कार्यालयसँग समन्वय हुन नसक्दा सेवा विस्तारमा समस्या भउको दावी गर्छन् । वन र टेलिकमको समन्वय र सहकार्यमा नाकाक्षेत्रमा टेलिकमको सेवा विस्तार गरिने बताएपनि अहिलेसम्म यो कार्य पुरा हुन सकेको छैन ।


नेपाल टेलिकमको टावर राख्नका लागि कानुनी प्रकृया पुरा भइसकेको, टावर राखिने स्थान तय गरिएकाले लगत्तै प्राविधिक टोली खटाइएने उनी बताउँछन् ।

 

मंसिरको पहिलो साता देखिनै ‘फोरजी’ नेटवर्क सहितको नेपाल टेलिकमको टावर जडान गरिने प्रमुख खनालले जानकारी दिए ।


सब डिभिजन वन कार्यालय बेलाका सहायक बन अधिकृत टेकन आचार्यले कानुनी प्रकृया पुरा भएमा टावर राख्न कुनै आपत्ति नभएको बताए । यस अघि गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयको सिफारिसका आधारमा टावर राख्न लागिएकाले उक्त काम रोकिएको उनले जानकारी दिए ।


‘हामी नाका क्षेत्रमा सञ्चार विस्तार गर्ने कुरामा  खुसी छौँ, सकारात्मक छौँ’ उनले भने, ‘काम गर्दै, प्रकृया मिलाउँदै जानुस् भनेर सुझाव समेत दिएका छौँ ।’ कानुनी प्रकृया पुरा भएमा सेवा विस्तार र सेवा प्रवाहमा आफुहरु सँधै सकारात्मक रहेको उनको भनाई छ ।


राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले सडक विस्तारको काम सकिएलगत्तै नाकाक्षेत्रमा सञ्चार सेवा उपलव्ध गराइने बताए । बर्षौँ देखि नाकावासीहरु हरेक क्षेत्रको विकासबाट पछाडि रहेको बताउँदै उनले हरेक सेवा सुविधा नाकामा उपलव्ध हुने आश्वासन समेत दिए ।