close

एकै वर्षमा ३ अभिभावक गुमाएका बालकलाई सहयोग जुट्दै

एकै वर्षमा ३ अभिभावक गुमाएका बालकलाई सहयोग जुट्दै

Trulli
ADVERTISEMENT

मुगु- मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ११ र्‍याङचेकाटीका १२ वर्षीय बालक युवराज कुमाललाई सहयोगी मनहरूले आर्थिक सहायता जुटाइदिन थालेका छन् ।


कुमालले एकै वर्षमा बाबु, बाजे र बज्यै गरी ३ अभिभावक गुमाउँदा परिवारमा वज्रपात परेको थियो । एकै वर्षमा ३ अभिभावकको किरिया गरेका कुमालको परिवारलाई हातमुख जोड्न सकस भएपछि आर्थिक सहयोग जुटाउन थालिएको थियो । 


अभिभावक गुमाउँदा घरबार चलाउनुका साथै लालनपालन, शिक्षा, स्वास्थ्य, आवास पनि गुमेको थियो । सोही घाउलाई मल्हम लगाउन पालिका खबरमा समाचार प्रकाशित भएपछि बालक कुमाललाई आर्थिक सहयोग जुटेको हो । 

 

समाचार प्रकाशित भएपछि हाम्राकुरा डटकमका संस्थापक अजयबाबु शिवाकोटी र संसार न्यूज डटकमकी प्रबन्ध सम्पादक चन्द्रिका राना थापाको पहलमा देश तथा विदेशमा रहेका मनकारीहरूबाट २ लाख २१ हजार ५ सय रुपैयाँ सहयोग जुटेको हो । 

 

संकलित रकम नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बालकको घरमै पुगेर हस्तान्तरण गरेका थिए । 

 

कार्यक्रममा नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले अभिभावकविहीन भएर जीवन चलाउन नसक्ने अवस्थामा पुगेको कुमाल परिवारलाई राज्यले नहेरे पनि दाताहरूको आँखा पुगेपछि प्राप्त सहयोगले राहत मिल्ने विश्वास व्यक्त गरे ।

 

युवराजकी आमा सौमती कुमालले प्राप्त सहयोग रकमबाट आफ्ना बालबालिकाको शिक्षा र लालनपालनमा खर्चिने बताइन् ।

 

बालक युवराज भन्छन्, ‘परिवारका ठूला सदस्यको निधनपछि साना भाइबहिनीको अभिभावक बनेको छु । घरमा कमाउने कोही छैन । आमाको कमाइले मात्र घरखर्च चल्न सक्दैन । सहयोग पाएपछि पढाइ अगाडि बढाउने र दैनिक घरखर्च चलाउँछौँ ।’

 

समाचार प्रभावका कारण छायानाथ रारा नगरपालिकाले कुमाल परिवारलाई ओढ्ने÷ ओछ्याउने कपडा र खाद्यान्न सहयोग गरेको छ ।

 

यस्तै, ग्रामीण युवा तथा समाज विकास केन्द्र मुगुका अध्यक्ष मुकुन्द रावलले युवराजसहित भाइबहिनीहरूलाई स्कुल ब्याग, न्याना कपडा उपलब्ध गराएका छन् ।