close

चितासँगै जलिरह्यो नाबालक छोराको मन 

चितासँगै जलिरह्यो नाबालक छोराको मन 

Trulli
ADVERTISEMENT

बाजुरा- जन्म र मृत्यु अवश्यंभावी नियिति हुन्, कसैले टारेर टर्दैनन् । जन्मिनेवित्तिकै एक दिन मृत्यु अनिवार्य छ, यो कसैले रोकेर रोकिँदैन । तर, कसैकसैको मृत्युले परिवार बिचल्लीमा पार्छ र समाज नै रुवाएर जान्छन् । बडिमालिका नगरपालिका- ९ मार्तडीमा यस्तै घटना भएको छ । 


३७ वर्षीय लालबहादुर बिक घरमै मृत अवस्थामा फेलापरे । बेलुका मदिरा सेवन गरेर घर आएका लालबहादुर घरको भुइँ तल्लामा सुतेका थिए । उनी बिहान मृत अवस्थामा फेलापरेको स्थानीयले बताए । उनकी श्रीमतीले तीन वर्षअघि दुई छोराछोरी लिएर अर्को बिहे गरेकी थिइन् । लालबहादुरका साथमा आठ वर्षका छोरा मात्र छन् ।


सहाराको रूपमा रहेका बुबाको मृत्युपछि नाबालक सम्राट बिचल्ली परेका छन् । जब बुबा चितामा जलिरहेका थिए, सम्राट एकोहोरो बुबा जलिरहेको चितामा टोलाइरहेका थिए । जसरी चिता दनदनी जलिरहेको थियो, त्यसरी नै उनको मन पनि जलिरहेको थियो ।

 
अब सम्राटको सहारा कोही छैन । उनी एक्ला छन् । सम्राटले बुबा जलिरहेको चितामा हेरिरहेको तस्बीर पत्रकार प्रेम बिकले सामाजिक संजालमा राखिसकेपछि धेरैको मन रोएको छ ।

 

एउटा नाबालक छोरा बुबा जलिरहेको हेरिरहँदा कस्तो पीडा भयो होला ? त्यसैमा न आमा छन्, न त कोही आफन्त । बुबाको सहारा रहेका सम्राट बुबालाई दागबत्ती दिएर अन्तिम बिदाइ गर्दा मलामी सबै भावुक बनेका थिए । लालबहादुरको मृत्युले छोरा अलपत्र परे समाजलाई पूरै रुवाएर गएका छन् ।


सम्राटकी आमा थुमा बिक दुई वर्ष पहिला चार वर्षकी छोरी गायत्री बिक र तीन वर्षका कीर्तन बिक सँगै लिएर अर्को बिहे गरेर गएकी थिइन् । 


स्थानीयका अनुसार उनी बडिमालिका नगरपालिका कोर्धका एक जना युवासँग बिहे गरेर अहिले भारतको सिम्ले पहाडमा बस्दै आएकी छन् । ती बालकले भने, ‘आमाले हेरिनन्, बुबालाई दैवले लियो ।’