स्याङ्जा- वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरूको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । वालिङ नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरूको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पसहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाणले बताए ।
‘महिला फुटबलमा निकै संभावना बोकेको वालिङका महिला खेलाडीहरूलाई खेल सँगसँगै उनीहरूको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेका छौँ’, नगरप्रमुख खाणले भने, ‘यसले गर्दा उनीहरूको खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्नेछैन ।’
वालिङका महिला खेलाडीहरूले विगतमा भएका विभिन्न प्रतियोगिताहरूमा वालिङको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका, जसले नगरको गरिमालाई उचाइमा पुर्याएको नगरप्रमुख खाणको भनाइ छ ।
‘वालिङ नगरपालिकाले फुटबल खेलको विकास र खेलाडीहरूको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउनका लागि प्रतिबद्ध भएर लगानी गरेको छ’, नगरप्रमुख खाणले भने, ‘खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो, भोलिका दिनमा पक्कै पनि प्रतिफल प्राप्त हुनेछ ।’
नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षकका रूपमा करारमा नियुक्ति गरेको छ । वालिङको महिला फुटबल टिमले यसअघिका प्रतियोगिताहरूमा सहभागिता जनाउँदै राष्ट्रिय स्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकाले आगामी लिगमा सर्वोत्कृष्ट बन्नका लागि आवश्यक रणनीति अपनाउन कुनै कञ्जुस्याइँ नगर्ने उपप्रमुख कल्पना तिवारीले बताइन् ।
महिला खेलाडीहरूले आफूले अध्ययन गर्दै आइरहेको विद्यालय/क्याम्पस उल्लेख गरी छात्रवृत्तिका लागि नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने उपप्रमुख तिवारीले जानकारी दिइन् । नगरपालिकाले आगामी लिगलाई मध्यनजर गर्दै अन्य विदेशी खेलाडीहरू अनुबन्ध गर्ने तयारी गरेको छ ।
वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरूको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीहरूमा ऊर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताइन् । वालिङ नगरपालिका सकारात्मक रूपमा खेलाडीको हितमा उभिएकाले पनि यहाँका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थान बनाउन सकेको अध्यक्ष लामाले बताइन् ।
वालिङका महिला फुटबल खेलाडीहरू विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइसकेका छन् ।
आगामी ७ माघदेखि काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिमहरू प्रतिस्पर्धामा उत्रिँदै छन् ।