close

मल्लरानीले दियो आँगनमै पुगेर अपांगता परिचयपत्र

मल्लरानीले दियो आँगनमै पुगेर अपांगता परिचयपत्र

Trulli
ADVERTISEMENT

प्युठान- प्युठानको मल्लरानी गाउँपालिकाले घर आँगनमै  पुगेर अपांगता परिचयपत्र वितरण गरेको छ । शारीरिक, मानसिक रूपमा अपांगता भएका व्यक्तिहरूलाई वडा कार्यालयमा आउन समस्या हुने भन्दै गाउँघरमै पुगेर अपांगता परिचयपत्र वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 

स्थानीय गाउँघरमै सेवा पाउँदा खुसी देखिएका छन् । मल्लरानी गाउँपालिका- ३ रस्पुरकोटकी रीमा कामी आफ्नै आँगनमा अपांग परिचयपत्र पाउँदा निकै खुसी हुँदै भनिन्, ‘घरमै यसरी परिचयपत्र पाउने भन्ने सोचेकी थिइनँ, आज पाउँदा खुसी छु । जिल्लामा गएर मात्र परिचयपत्र बनाउन पाइन्छ भनेको सुनेकी थिएँ तर आज आँगनमै पाउँदा गरिबको सरकार बल्ल गाउँमै आएको जस्तो लागेको छ ।’

 

उमेरले ५० कटेकी उनमा मानसिक र शारीरिक दुवै खालको अपांगता भएकाले उनलाई ‘ख’ वर्गको परिचयपत्र प्रदान गरिएको राष्ट्रिय अपांग सेवा संघ प्युठानका अध्यक्ष जुमानसिंह केसीले बताए ।

 

त्यस्तै, मल्लरानी- २ चुजाकी ४५ वर्षकी लाली नेपाली शारीरिक अपांगता भएकी व्यक्ति हुन् । उनले पनि घरमै ‘क’ वर्गको परिचयपत्र पाइन् । सामान्य बोल्ने, हिँडडुल गर्न नसक्ने उनले अरूको सहारामा बाँच्नु परेको अभिभावकले गुनासो गरे । अब अपांग परिचयपत्र पाएपछि सरकारबाट सहयोग पाउने आशा गरेको लाली नेपालीले बताइन् ।

 

पछिल्लो समय अभियानको रूपमा पायक पर्ने स्थान, वडा कार्यालय तथा अन्य सामुदायिक भवन विद्यालयहरूमा शिविर चलाएर परिचयपत्र वितरण गर्दै आएको अध्यक्ष केसीले बताए । पालिकाभर विभिन्न प्रकृतिका करिव ३०० जना अपांगता भएका व्यक्तिहरू रहेको अनुमान पालिकाले गरेको छ ।

 

गत १९ पुसदेखि सुरु भएको परिचयपत्र वितरण तथा नवीकरण कार्यक्रम २५ गतेसम्म संचालन गर्ने मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिए । अशक्त, अपांगता भएका व्यक्तिहरूलाई गाउँदेखि पालिका कार्यालयसम्म आउन धेरै खर्च हुने र उनीहरूलाई आउजाउ गर्न समस्या हुने भन्दै यस्तो अभियान सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ ।