close

खाँडादेवीमा धार्मिक सहिष्णुताको उदाहरण : बौद्ध र हिन्दु धर्मको एउटै पार्क (भिडियाे खबर)

खाँडादेवीमा धार्मिक सहिष्णुताको उदाहरण : बौद्ध र हिन्दु धर्मको एउटै पार्क (भिडियाे खबर)

ADVERTISEMENT

रामेछाप- विभिन्न जातजातिको बसोवास रहेको हाम्रो देश नेपालमा विभिन्न धर्म र संस्कृति मान्ने सम्प्रदाय छन् । एउटै समाजमा बसोवास गर्ने भएपछि भिन्नै धर्म मान्ने व्यक्तिले अर्को धर्म मान्ने व्यक्तिलाई उत्तिकै सम्मान गरिरहेका हुन्छन् । त्यसैले त नेपालमा धार्मिक सहिष्णुता कायम छ । 


रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले धार्मिक सहिष्णुतालाई थप बलियो बनाउने उद्देश्यका साथ धार्मिक पर्यटक भित्र्याउनसमेत मद्दत पुग्ने गरी एकै स्थानमा बौद्ध र हिन्दु धर्म मान्नेहरूका लागि बुद्ध र शिवको मूर्तिसहितको शान्ति पार्क बनाएको छ ।

 
रामेछापको खाँडादेवी गाउँपालिका नजिकै एउटा अग्लो डाँडा छ, जहाँ भगवान शिव र बुद्धका ठूलाठूला २ मूर्तिसहितको शान्ति पार्क निर्माण गरिएको छ ।

 

हिन्दु र बुद्ध धर्म मान्ने मानिसको बाहुल्य रहेको यस गाउँपालिकामा यी २ मूर्ति एकै ठाउँमा बनाउँदा धार्मिक पर्यटक भित्र्याउन मद्दत पुग्ने र धार्मिक सहिष्णुता पनि कायम हुने उद्देश्य गाउँपालिकाले लिएको छ ।

 

२ आर्थिक वर्षको ३५ लाख रुपैयाँ लागतबाट निर्माण भएको शान्ति पार्क निर्माणका केही काम भने बाँकी नै छन् । 


हिन्दु र बुद्ध धर्म मान्ने मानिसलाई नजिक बनाउने काम यस शान्ति पार्कले गर्ने स्थानीयले विश्वास लिएका छन् । पार्क स्थलमा जाँदा भगवानका २ मूर्तिको दर्शन गरेपछि धर्ममा आस्था राख्ने सबैलाई आनन्द महसुस हुने विश्वास उनीहरूको छ ।


सबैतिर पर्यटकीय स्थलसमेत अवलोकन गर्न सकिने शान्ति पार्कमा रामेछाप र छिमेकी जिल्ला सिन्धुलीबाट समेत पर्यटक आउन थालेकाले यो क्षेत्र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको स्थानीयको दाबी छ ।


यस्ता धार्मिक पर्यटकीय स्थलको पहिचान गरेर धार्मिक सहिष्णुतालाई अझै मजबुत बनाउन अरू स्थानीय सरकारले पनि अभियान चलाउन सके रामेछाप जिल्लाले चाँडै समृद्धिको यात्रा तय गर्ने विश्वास लिइएको छ ।