close

सरकार ! कहिले पाउँछन् उखु कृषकले १९ करोड ? (भिडियाे खबर)

सरकार ! कहिले पाउँछन् उखु कृषकले १९ करोड ? (भिडियाे खबर)

ADVERTISEMENT

सर्लाही- सरकारले पीडित उखु किसानलाई भुक्तानीका लागि दिएको २१ दिने समय सीमा सोमबार सकिएको छ । गत १३ पुसमा बसेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पीडित उखु किसान संघर्ष समितिबीचको ५ बुँदे सहमतिमा २१ दिनभित्र किसानको बाँकी सम्पूर्ण भूक्तानी गराउने सहमति भएको थियो ।

 

तर, सरकारले वाचा गरेको २१ दिनको म्याद सकिँदा किसानले पाउनुपर्ने कुल भुक्तानीको हालसम्म करिब ७३ प्रतिशत मात्र भुक्तानी भएको छ । सबै भुक्तानी नगरे पुनः आन्दोलनमा उत्रिने चेतावनी किसानले दिएका छन् ।


२८ मंसिरमा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरे । माइतीघरमा सरकार खोज्दै किसानले सरकारविरुद्ध नारा लगाए । आफ्नो करोडौँ रकम उठाइदिन गरेको पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै एक उखु किसानले ज्यान पनि गुमाए ।

 

त्यसपछि १३ पुसमा सरकारले किसानसँग बक्यौता दिने गरी पुनः सम्झौता गर्‍यो । सम्झौतासँगै किसान पैसा आउने आशमा घर फर्किए । पुनः उखु रोप्न खेतमा होमियौँ । तर, २१ दिन पर्खंदा पनि आफ्नो बाँकी रकम एक पैसा पनि पाउन नसकिएको उखु किसान  राजाराम रायको गुनासो छ ।

 

सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने सम्झौता गरेर पनि बेवास्ता गरेको उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायको गुनासो छ ।

 

त्यसो त गएको २१ दिनमा अन्नपूर्ण सुगर मिलले कुल ११ करोड २७ लाख रुपैयाँ, लुम्बिनी सुगर मिलले ४ करोड १६ लाख रुपैयाँ, इन्दिरा सुगर मिलले ४ करोड ५० लाख रुपैयाँ र श्रीराम सुगर मिलले कुल ३५ करोड ७५ लाख ४४ हजार भुक्तानी दिइसकेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

कसको कति रकम बाँकी ?


अन्नपूर्ण सुगर मिल :
भुक्तानी गर्नुपर्ने कुल १७ करोड रुपैयाँ, 
भुक्तानी भएको कुल ११ करोड २७ लाख
बाँकी ५ करोड ७३ लाख 

 

लुम्बिनी सुगर मिल :
भुक्तानी गर्नुपर्ने कुल ८ करोड ४१ लाख, 
भुक्तानी भएको कुल ४ करोड १६ लाख 
बाँकी ४ करोड २५ लाख 

 

इन्दिरा सुगर मिल :
भुक्तानी गर्नुपर्ने कुल ४ करोड ७० लाख,
भुक्तानी भएको १ करोड ५० लाख 
बाँकी ३ करोड २० लाख 

 

श्रीराम सुगर मिल :
भुक्तानी गर्नुपर्ने कुल ४० करोड ४६ लाख, 
भुक्तानी भएको कुल ३५ करोड ७५ लाख ४४ हजार 
बाँकी ४ करोड ७० लाख ५६ हजार 

 

आन्दोलनरत किसानको पक्षबाट सहमति प्रक्रियामा समेत सक्रिय भएर लागेका किसानको भुक्तानी सवालमा पटक पटक छलफलको लागि उद्योगीसँग आग्रह गरेका नेता हरि उप्रेती भन्छन्, ‘समस्या समाधान हुनेछ । तर, कहिले थाहा छैन ।’ 


पटक-पटक आन्दोलन गर्दा समेत ५-६ वर्ष देखिको उखुको भूक्तानी नपाएका पीडित उखु किसानले यस पटकको २१ दिने समय सीमा पनि पूर्ण रूपमा भुक्तानी नपाए आन्दोलनमा जाने उद्घोष गरेका छन् ।