close

बिजुली दिन गाडिएको पोल कुहिए, झर्रो बालेरै रात बित्छ मुगुवासीको 

बिजुली दिन गाडिएको पोल कुहिए, झर्रो बालेरै रात बित्छ मुगुवासीको 

Trulli
ADVERTISEMENT

मुगु- मुगुको एक मात्र छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा र राराबासीले बिजुली बत्तीका लागि पोल ठड्याएको ४ वर्ष बितिसक्दा पनि बत्ती बल्न सकेको छैन । 


गमगढी बजारमा रहेको गमगढ साना जलविद्युत् आयोजनाले रारा र मुर्मा गाउँलाई विद्युत् पुर्‍याउने लक्ष्यका साथ ४ वर्ष पहिला बत्तीको पोल सदरमुकाम गमगढीदेखि रारासम्म गाडिएको थियो । गमगाढ आयोजनाले पनि रारा-मुर्मा गाउँसम्म बत्ती पुर्‍याउने काम अगाडि बढाए पनि हालसम्म बिजुली नबलेको स्थानीयको गुनासो छ ।

 

बिजुली बत्तीका लागि धेरै पटक कार्यालय पुग्दा रारा राष्ट्रिय निकुञ्ज र ठेकेदारको कमजोरी भएको बताउँदै घर फर्काइने गरेको उनीहरू सुनाउँछन् । 

 

‘छिट्टै काम हुन्छ भन्छन् । दिवाले (झरो) ल्याउन वनतिर जाँदा निकुञ्जले कारबाही गर्छ । बत्ती जडानमा लापर्वाही भएको छ । सरोकारवालाको ध्यान नजाँदा बिजुलीका पोल हेरेर बस्नुबाहेक अर्को विकल्प छैन’, स्थानीय भन्छन् ।

 

रारा कन्स्ट्रक्सन कम्पनीलाई २०७४ चैतमा रारा–मुर्मा गाउँसम्म ६८ स्थानमा बत्ती पोल हाल्न ३ हजार ६ सय मिटर सिंगल लाइन तार तान्ने र ३ किलो मिटर त्रिफेज तार तान्ने कामको जिम्मा १ वर्षभित्र सक्ने गरी १० लाख रुपैयाँमा दिइएको थियो । तर, अहिलेसम्म बिजुली जडान गरेको छैन । 

 

ठेकेदारले समयमै काम नभ्याएपछि २ असोज २०७७ मा १ वर्षका लागि समय थप गरे पनि अहिलेसम्म काम पूरा भएको छैन । 

 

‘रारा राष्ट्रिय निकुञ्ज र कोरोनाले गर्दा काम समयमा सम्पन्न गर्न नसकिएको हो । यसमा ठेकेदारको पनि कमजोरी देखिएको छ । अब चाँडै ठेकेदारलाई सम्झौताअनुसारको काम गर्न आग्रह गर्छौं,’ गमगाढ साना जलविद्युत् आयोजना कार्यालयका प्रमुख दिनेश पौड्यालले भने । 

 

गमगाढ साना जलविद्युत् आयोजनासँग रारा-मुर्मा गाउँसम्म पोल राखेर बत्ती जडानको काम सम्झौताअनुसार ९५ प्रतिशत सम्पन्न भइसकेको ठेकेदारको दाबी छ । गमगाढ आयोजनाले पहिले रारा राष्ट्रिय निकुञ्जसँग काम गर्नुअघि अनुमति नलिई ठेक्का गरेको हुँदा निकुञ्जबाट समय-समयमा अवरोध हुँदा बत्ती जडानमा ढिलाइ भएको छ ।

 

पछिल्लो समय रारा राष्ट्रिय निकुञ्जले ९० दिनभित्र काम सम्पन्न गर्ने अनुमति दिएपछि बत्ती जडान सुरु भएको छ । बत्ती जडानको जिम्मा पाएको रारा कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर कालीबहादुर रावलले रारा राष्ट्रिय निकुञ्जले विद्युत्को तार तान्ने र पोल हाल्ने अनुमति दिएपछि निकुञ्जभित्रका धेरै सल्लाका रूख काट्नु पर्दा समय लागेको दाबी गरे । 

 

रारा-मुर्मामा बत्ती नहुँदा रारा घुम्न आउने पर्यटकलाई मोबाइल क्यामेरा चार्ज गर्न, निकुञ्ज र नेपाली सेनाको कार्यालय सञ्चालनमा समेत समस्या भइरहेको छ ।

 

मुर्मामा रहेको नेपाल टेलिकम टावर, रेडियो नेपालको रिले टावरका साथै मुर्मा गाउँमा रहेको समुदाय विद्यालयमा रहेका दर्जनाैँ कम्प्युटर सञ्चालनमा नआउँदा माकुराको जालो लागेको मुर्मा गाउँका देवीसिंह रोकायाले जानकारी दिए ।