close

स्थानीय तहको प्राथमिकतामा परेन मानव अधिकार कार्ययोजना

स्थानीय तहको प्राथमिकतामा परेन मानव अधिकार कार्ययोजना

Trulli
ADVERTISEMENT

ओखलढुंगा– स्थानीय तहको नीति तथा कार्यक्रममा सरकारले जारी गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना प्राथमिकतामा परेको छैन ।

 

चौथो कार्ययोजना सकिएर पाँचौँ राष्ट्रिय कार्ययोजना सुरु भइसके पनि स्थानीय सरकारले उक्त कार्ययोजनाअनुसार जिम्मेवारी तोकिएका विषय सम्बोधन गर्ने नीति ल्याएका
छैनन् । 


२०७७ साउनमा सरकारले पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजना जारी गरेर शिक्षा र स्वास्थ्यको अधिकार मुख्य प्राथमिकतामा राखेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा पनि ती अधिकार सुनिश्चित गर्ने विभिन्न प्रावधान तोकिएका छन् ।

 

तर, स्थानीय सरकारले उक्त कार्ययोजना र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम ल्याएका छैनन् । 


मानव अधिकार कार्ययोजना कार्यन्वयन गर्ने दायित्व संघ, प्रदेश र स्थानीय सरकारलाई तोकिएको छ । त्यसरी तोकिएका प्रावधानबारे स्थानीय तह नै जानकार छैनन् । साउनमा जारी गरिएको कार्ययोजनाबारे जानकारी नहुनु अनौठो भएको सरोकारवालाको बुझाइ छ ।

 
कार्ययोजना कार्यान्वयनको अवस्था अनुगमन गर्ने दायित्व राष्ट्रिय मानव अधिकार आयोगलाई तोकिएको छ । आयोगले स्थानीय सरकारलाई जिम्मेवार बनाएका प्रावधान कार्यान्वयनको अवस्थाबारे प्रारम्भिक अनुगमन थालेको जनाएको छ । 


आयोगको प्रदेश शाखा कार्यालय खोटाङले ओखलढुंगाका स्थानीय तहमा कार्ययोजनाबारे स्मरण गराउँदै प्रारम्भिक अनुगमन गरेको कार्यालय प्रमुख श्यामबाबु काफ्लेले बताए । स्थानीय तहलाई कार्ययोजनाले तोकेका दायित्वबारे स्मरण गराउँदै स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने दायित्व कार्यान्वयनबारे छलफल गरेको उनले जानकारी दिए । 


आयोगले देशभर गरेको अनुगमनमा स्थानीय तहमा स्वास्थ्यको अधिकार कार्यान्वयनको अवस्थाबारे छुट्टै प्रतिवदेन सार्वजनिक गर्ने तयारी छ । आयोगको अनुगमन टोली स्थानीय तहमा पुगेपछि ओखलढुंगाका केही स्थानीय तहले भने त्यसबारे चासो लिएका छन् । 


सिद्धिचरण नगरपालिकाले उक्त कार्ययोजनाबारे जानकारी नभए पनि अब अध्ययन गरेर कसरी काम गर्न सकिन्छ, त्यसबारे योजना बनाइने जनाएको छ । नगरप्रमुख मोहनकुमार श्रेष्ठले कार्ययोजना अध्ययन गर्ने काम भइरहेको बताए । 

 

आयोगले पहिलो चरणको अनुगमनमा स्वास्थ्य अधिकारको अवस्था हेरिएको जानकारी दिएको छ । कार्ययोजनामा शिक्षाको अधिकारलाई पहिलो प्राथमिकतामा राखिएको छ भने त्यसपछि स्वास्थ्य, खाद्यान्न, आवासलगायतका अधिकार कार्यन्वयनका लागि स्थानीय तहलाई जिम्मेवार बनाइएको छ ।

 

कार्ययोजना बने पनि स्थानीय सरकारले अधिकारमुखी पद्धति अपनाउने र अधिकारका विषय प्राथमिकतामा राख्ने गरेको नपाइएको अधिकारकर्मी पेमडोमा शेर्पाले बताइन् । स्थानीय सरकारमा समस्या देखाउँदा समाधान गर्ने भन्दा पन्छिने प्रवृत्ति बढेको उनको बुझाइ छ ।

 

सरोकारवालाले भने मानव अधिकार कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न– गराउन माग गरेका छन् ।