close

दूध र अण्डामा समृद्ध बर्दघाट : अब मासुमा आत्मनिर्भर हुँदै

दूध र अण्डामा समृद्ध बर्दघाट : अब मासुमा आत्मनिर्भर हुँदै

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका दुध र अण्डामा आत्मनिर्भर भएको छ । नगरको पशुपक्षी विकास शाखाको तथ्यांकअनुसार अहिले नगर क्षेत्रमा करिब २ हजार ५ सय दुधालु पशुबाट दैनिक रूपमा २३ हजार ५ सय लिटर दूध उत्पादन हुने गरेको छ ।

 

०६८ को जनगणनाअनुसार ७३ हजार ५ सय जनसंख्या रहेको बर्दघाट नगर क्षेत्रमा १८ हजार ५ सय लिटर दूध दैनिक आवश्यक पर्थ्याे । व्यावसायिक गाई-भैँसीपालन फार्म २ सय २७ वटा छन् । 

 

नगरप्रमुख धीरज शर्मा बस्यालले अहिले दूध एवं अण्डामा नगर आत्मनिर्भर भए पनि यसको निरन्तरताका लागि किसान र सरोकारवालाले अझै मिहिनेत गरेर निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए ।

 

पशुपक्षी विकास शाखाका प्रमुख भरत लम्सालका अनुसार नगर क्षेत्रबाट अहिले ५ हजार लिटर दूध दैनिक नगरबाहिर बिक्री हुँदै आएको छ, जसबाट दैनिक कृषकले करिब ६ लाख ७० हजार अर्थात् करिब २ करोड रुपैयाँ आम्दानी बुझ्ने गरेको नगरपालिकाको तथ्यांक छ ।


कुखुराको अण्डा उत्पादनमा पनि आत्मनिर्भर रहेको बर्दघाटमा वार्षिक करिब ११ करोड रुपैयाँको कारोवार हुने गरेको नगरपालिकाको पशुपक्षी विकास शाखाले जनाएको छ ।


नगरमा अहिले १८ वटा लेयर्स पोल्ट्री फार्ममा करिब ८० हजार कुखुरापालन गरिएका छन्, जसबाट दैनिक ३० हजार गोटा अन्डा उत्पादन हुने गरेको छ । ‘दूध र अन्डा निर्यात गर्न लागिएको छ’, लम्साल भन्छन्, ‘अब मासु उत्पादनलाई आत्मनिर्भर बनाउन जोड दिएका छौँ ।’


अन्डा उत्पादक संघ नवलपरासीका अध्यक्ष गोविन्द थापाले बर्दघाटबाट उत्पादित अन्डा बाहिरी जिल्लामा समेत खपत हुने गरेको बताए । नगरपालिकाले सोमबार नगरका व्यावसायिक किसानमध्ये सिफारिस भई आएकालाई ४० लिटरका २० वटा स्टिल क्यान, २० लिटरका आल्मोनियम क्यान २० वटा र १६ लिटरका १८ वटा स्प्रे वितरण गरेको छ ।

 

यस्तै, एक थान कुखुराको चुच्चो काट्ने मेसिन, २५ केजीका ४५ पोका चुनका थैलासमेत वितरण गरिएको थियो ।

 

मिल्क क्यान तथा फार्म जैविक सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेघराज पाध्यलगायत उपस्थित थिए ।